पर्यटकीय केन्द्र ठमेलमा ‘छाया सेन्टर’ सञ्चालनमा आएको छ । सेन्टरको मंगलबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो । ‘ठमेलभित्रको ठमेल’का रूपमा प्रवद्र्धन गरेको छाया सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधासम्पन्न सपिङ कम्प्लेक्स भएको सञ्चालकको दाबी छ । कम्प्लेक्सबाट पर्यटनसँग जोडिएका सबै किसिमका सेवा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ का रूपमा प्रवद्र्धन गरिएको छाया सेन्टरको भनाइ छ । नेपाल इन्भेष्टेमण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको नेतृत्वमा बैंकिङ, निर्माण, जलविद्युत्, व्यापार, उद्योग, पर्यटनलगायत विभिन्न क्षेत्रका व्यवसायीको सहभागितामा छाया सेन्टर सञ्चालनमा आएको हो ।
कम्प्लेक्समा तीनवटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लबलगायत सुविधा उपलब्ध छन् । यस्तै, कम्प्लेक्समा बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय पनि रहने बताइएको छ ।छाया सेन्टरमा आगामी मार्चदेखि पाँचतारे स्तरको अलफ्ट होटेल पनि सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ । यो होटेल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको सञ्चालकको भनाइ छ ।
भवनको पाँचौँदेखि १५औँ तलासम्म होटेल सञ्चालन हुनेछ । होटेलसँगै छाया सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ । करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो अत्याधुनिक व्यापारिक कम्प्लेक्स सन् २०१३ देखि निर्माण थालिएको थियो । प्राविधिक कारणले निर्माण कार्य केही लम्बिएकाले सञ्चालनमा आउन केही ढिलो भएको छाया सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए ।
ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको कम्प्लेक्सले ठमेलको पर्यटनलाई मात्रै नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग पु-याउने विश्वास उनको छ ।
कम्प्लेक्समा तीन सयभन्दा बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थलसमेत निर्माण गरिएको छ । यो नेपालकै नमुना र व्यस्त कम्प्लेक्स हुनेमा कम्पनीका लगानीकर्ता आशावादी छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij