काठमाडौं– निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।
उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।
उनले बयानमा निर्मलाको हत्यामा संलग्न भएको स्वीकारेको प्रहरीले दाबी गरेको थियो । रावलले साबिती बयान दिएको खबर पाएलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् पनि राति नै उनको बयान लिन सीआईबी पुगेका थिए ।
यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएको अर्का युवा विशाल चौधरी पनि छुटिसकेका छन् । उनले प्रहरीले धम्की दिएर आरोप स्वीकार्न लगाएको दाबी गरेका थिए ।
निर्मला प्रकरणमा प्रहरीले भन्यो– सबै कुरा डीएनए मात्रै होइन यद्यपि, निर्मलाको ‘भजाइनल स्वाव’सँग दुवै जनाको डीएनए मेल नखाएको प्रहरीले नै अनौपचारिक रूपमा बताएको थियो । शंकास्पद भनिएका दुवै जना छुटिसक्दा पनि प्रहरीले उनीहरुको डीएनए रिपोर्ट भने औपचारिक रुपमा अझै सार्वजनिक गरेको छैन । बरु उल्टै भन्न थालेका छन्, ‘सबै कुरा डीएनए मात्र होइन ।’
पछिल्लो समय मुख्य आरोपितका रुपमा नाम चुहाइएका दुई जना साधारण तारेखमा छुट्दा फेरि एक पटक प्रहरी चुकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij