२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रहरीमाथि आक्रमण

पर्सामा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते

पर्सामा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते

1.3K
Shares

वीरगञ्ज – पर्सामा तस्कर र स्थानीयको आक्रमणमा परी दुई प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् ।
नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिकास्थित पाँडेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा गएराती तीन बजेको समयमा प्रहरीमाथि उल्टै आक्रामण भएको हो ।
स्थानीय र तस्कर समूहको आक्रामणबाट प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, जयकिशन महतो, प्रहरी हवल्दार प्रेम राना र जवान अर्जुन चौधरी घाइते भएका छन् ।
तीमध्ये टाउकोमा गम्भिर चोट लागेका प्रहरी जवान चौधरीको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पाँडेपुर र सीमावर्ती भारतीय गाँउका तेल तस्करहरुले प्रहरीको साथबाट थ्री नट थ्री राइफल पनि खोसेर भागेका थिए । प्रहरीबाट तस्करहरुले खासेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको छ ।
तस्कर समूहसहित करीब दुई सय जनाको संख्याका स्थानीयले जगननाथपुरमा रहेको प्रहरी चौकी घेराउ गर्दै प्रहरीमाथि आक्रमणमा उत्रिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तस्करहरुलाई गाउँले समेतले साथ दिई प्रहरीमाथि आक्रमण भएको हो ।
दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij