२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्मचारी समायोजन अध्यादेश

स्थानीय तहका कर्मचारीद्वारा देशभरका कामकाज ठप्प

स्थानीय तहका कर्मचारीद्वारा देशभरका कामकाज ठप्प

1.8K
Shares

काठमाडौं–स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेका छन् । ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निष्कर्ष निकाल्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरुले सोमबार देशभरका सबै स्थानीय तहको कायकाज ठप्प पारेका हुन । निजामती कर्मचारीहरुलाई दिईदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएपछि त्यसको विरोधमा सोमबार देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

आईतबार स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो अध्यादेश संशोधन गरी आफूहरुलाई पनि निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशनसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । सोही विरोध प्रर्दशनको कार्यक्रम अन्तरगत सोमबार पहिलो दिन कार्यालयको कामकाज ठप्प पार्ने कार्यक्रम देशभर सफल भएको पनि संघका अध्यक्ष श्रेष्ठले बताए । स्थानीय तहका कर्मचारीहरुले मंगलबार २ घण्टा कालोपट्टी बाँधेर आफ्ना कार्यालयमा कलम बन्द गर्नेछन् ।

संघले साविकको स्थानीय निकायमा कार्यरत श्रणीविहिन कर्मचारीहरुको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारलाई दवाव दिएको छ । संघका अध्यक्ष श्रेष्ठले निजामती कर्मचारीहरुलाई अघि सारेर आफूहरुलाई विभेद नगर्न सरकारलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो पनि गरे । सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनको नाममा निजामती कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आपत्ति छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरु आबद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाललगायतका संघ, संगठनहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij