काठमाडौं – अप्रिलियाका दुई बाइक एसएक्स १२५ र आरएक्स १२५ नेपालमा लन्च गरिएको छ । नेपालमा अप्रिलिया बाइकको आधिकारिक वितरक डी लाइफस्टाइलले एक कार्यक्रमका बीच यी बाइक लन्च गरेको हो ।
अप्रिलियाका यी बाइक बेस्ट इन क्लास इन्ड्युरो र सुपरमोटो बाइक हुने । आकर्षक डिजाइन, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त यी बाइक ‘द नेक्स्ट फ्याक्टर फन’ भएको कम्पनीले बताएको छ ।
दुवै बाइक विभिन्न स्वाद र आवश्यकता अनुरुप उपयुक्त हुने गरी निर्माण गरिएका छन् र विभिन्न विशेषताले भरिपूर्ण छन् । अप्रिलिया आरएक्स १२५ अफरोड उत्साहका लागि पूर्ण रुपमा सक्षम भएको कम्पनीको दावी छ ।
अगाडि ठूलो २१ इन्च र पछाडि १८ इन्च रिमसँग भएको टायरले उत्कृष्ट प्रदर्शन र पूर्ण नियन्त्रण प्रदान गर्छ । अप्रिलिया एसएक्समा १७ इन्च स्पोर्ट्स टायर फिट भएको छ, जसका कारण यो बाइक प्रभावकारी बनेको छ ।
आधुनिक प्रविधिको फोर स्ट्रोक सिंगल सिलिन्डर इलेक्ट्रोनिक फ्युल इन्जेक्टेड १२५ सीसी इन्जिनले १५ एचपी पावर र ११.३ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिन युरो फोर मापदण्डमा आधारित छ ।
दुबै बाइकमा एबीएस सिष्टमको ब्रेकका साथै एड्भान्स्ड सस्पेन्सन छ । नेपाली बजारमा एबीएस भएको यो पहिलो बाइक भित्रिएको कम्पनीको भनाइ छ ।
अप्रिलियामा एन्टी रोलओभर मोड सहित बोस्क कम्पनीको एबीएस सिष्टम छ । यसले बाइकको सेफ्टी र टोटल कन्ट्रोलमा भूमिका खेल्छ । ब्रेक लगाउदा आवश्यक नियन्त्रण कायम हुन्छ ।
अप्रिलिया एसएक्समा डबल पिस्टन फ्लोटिङ क्यालिपर सहितको ३०० एमएम फ्रन्ट डिस्क ब्रेक र फ्लोटिङ क्यालिपर सहितको २२० एमएम रियर डिस्क ब्रेक छ । आरएक्समा २६० एमएमको फ्रन्ट र २२० एमएमको रियर वेभ डिस्क ब्रेक छ । यी ब्रेक रेसिङ बाइकमा प्रयोग गरिने ब्रेक हुन् । दुवै बाइकमा डिजिटल ड्यासबोर्ड छ ।
बाइक लन्चिङ समारोहमा डी लाइफस्टाइका प्रबन्ध निर्देशक आभूषण ज्योति कंशाकारले अप्रिलिया सिरिजको नयाँ बाइकमा भएको कार्यक्षमता र डिजाइन हेरेर नेपाली बजारमा उपलब्ध गराएको र यसले यो श्रेणीका राइडरहरुलाई अभुतपूर्व राइडिङ अनुभव दिलाउने बताए ।
दुवै बाइकको मूल्य ७ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij