२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पहिलो पटक मृत महिलाबाट प्रत्यारोपण गरिएको पाठेघरबाट जन्मियो बच्चा

पहिलो पटक मृत महिलाबाट प्रत्यारोपण गरिएको पाठेघरबाट जन्मियो बच्चा

1.5K
Shares

एजेन्सी- ब्राजिलकी एक युवती ३२ वर्षसम्म महिनावारी भएकी थिइनन्।

एमआरएचके सिन्ड्रोमका कारण उनको शरीरमा पाठेघर थिएन। संसारमा ४ हजार ५ सय महिलामा १ जनालाई यस्तो सिन्ड्रोम हुन्छ।

सन् २०१६ को सेप्टेम्बरमा उनको जीवन बदलियो। एक जना ब्रेन ह्यामरेज भएर मृत्यु भएकी महिलाको शरीरबाट निकालिएको पाठेघर ती युवतीको पेटमा राखियो। ती महिलाले दान दिएको पाठेघर युवतीको पेटमा राख्न १० घन्टा लामो अपरेशन भयो।

पाठेघर प्रत्यारोपण गरेको आठ दिनपछि उनी अस्पतालबाट घर फर्किइन्।

३७ दिनपछि उनी पहिलो पटक महिनावारी भइन्। त्यसपछि त्यो क्रम निरन्तर चलिरह्यो।

प्रत्यारोपणको सात महिनापछि ती युवती गर्भवती भइन्।

गर्भावस्था पनि सामान्य रूपले बित्यो। ३५ सातापछि गत वर्ष डिसेम्बर १५ तारिखमा ती युवतीले छोरीलाई जन्म दिइन्।  ६ पाउन्ड तौल भएकी ती बच्ची अहिले अरूबच्चाजस्तै हुर्किरहेको मेडिकल जर्नल द ल्यान्सेटले जनाएको छ।

बच्चा जन्मिएसँग उनको शरीरमा प्रत्यारोपण गरिएको पाठेघर पनि निकालिएको छ।

मृतकबाट निकालेर प्रत्यारोपण गरिएको पाठेघरमा गर्भ विकास भएर बच्चा जन्मिएको यो पहिलो पटक हो।

यसअघि अमेरिका, टर्की र चेक रिपब्लिकमा  मृतकको शरीरबाट निकालिएका १० वटा पाठेघर प्रत्यारोपण भए पनि त्यसबाट बच्चा जन्मन सकेको थिएन।

जिवित व्यक्तिको पाठेघर निकालेर प्रत्यारोपण भएको पाठेघरबाट सन् २०१३ मा पहिलो बच्चा जन्मिएको थियो। यसरी प्रत्यारोपण भएका पाठेघरबाट ११ जना बच्चा जन्मिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij