अर्थ नेपाल काठमाडौं/ दशैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको आयोजकको भनाई छ ।
मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने गरेको बताए ।
मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गए पनि ठुलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफुहरु प्रदर्शनीस्थल तयार गर्न अग्रसर हुने उनले बताए ।
वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् ।
राजधानीका साथै राजधानी आसपासका उपभोक्ताले मेलाबाट लाभ लिन सक्ने छन् भने बिक्रेताहरुले पनि एकै स्थानमा फरक किसिमका उत्पादन बिक्री गर्न पाउने छन् । ५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेला असोज १५ गतेसम्म चल्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij