२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पप्पु कन्सट्रक्सनका मालिक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी

पप्पु कन्सट्रक्सनका मालिक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी

2.4K
Shares

 

अर्थ नेपाल रौतहट/पप्पु कन्सट्रक्सनका मालिक सुमित रौनियारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।
इशनाथ नगरपालिका वडानम्बर ९ बनजरजाका किशोर चनउ, गौर नगरपालिका ४ टिकुलियाका रामबाबु साह कानुको जाहेरी र प्रहरी निरीक्षक ओमप्रकाश यादवको प्रतिवेदनका आधारमा रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।
गत भदौ नौ गते गौर नपा ४ टिकुलियास्थित लालबकैया नदीमा निर्माणधीन पुलको पिलरमा २९ जना सवार डुंगा दुर्घटना हुँदा सो घटनामा ५ जनाको ज्यान नै गएको थियो ।

घटनापछि पुल निर्माण कम्पनी पप्पु कन्सट्रक्सन दोषी रहेको भन्दै स्थानीय र पीडितहरुले ठेकेदार रौनियारलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दर्ता गराएका थिए ।
पीडितको उजुरी र प्रहरीद्धारा छानबिनपछि जिल्ला अदालत गौरको आदेशमा जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्सट्क्सनका अध्यक्ष पर्सा पोखरीया ४ का सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । पुल निर्माण कम्पनी पप्पु कन्सट्रक्सनको लापरवाहीले टिकुलिया घाटस्थित लालबकैया नदीमा समयमै पुल निर्माण नहुँदा डुंगा दुर्घटना भई मानिसहरुले ज्यान गुमाउनु परेको स्थानीयको भनाई छ ।

२०७४ असार मसान्तसम्म उक्त पुलको निर्माणकार्य पुरा हुनुु पर्ने सम्झौता भएपनि हाल सम्म पुल निर्माणको काम अधुरै छ ।

हालसम्म पुलका पाँचवटा पिलर मात्रै ठड्याइएका छन् । २०७१ साल कार्तिक २९ गते तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाले सो पुलको शिलान्यास गरेका थिए ।
दुईसय २५ मिटर लामो उक्त पुलको १६ करोड ८६ लाख रुपैयाँ लागतको टेण्डर रौनियारले हत्याएका थिए । सुमित संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij