अर्थ नेपाल पोखरा/पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गर्नुभएको छ ।
पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा उहाँहरुले पद तथा गोपनियताको सपथ लिनुका साथै पदभारग्रहण गर्नुभएको हो ।
संघको ३२औँ महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन भएको हो । नव निर्वाचित अध्यक्ष दामु अधिकारीले यसअघि नै निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठको उपस्थितिमा निवर्तमान अध्यक्ष विश्वशंकर पाखिलेबाट पद तथा गोपनियताको सपथग्रहण गरिसक्नु भएको थियो । सोमबार आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पदको सपथ गराउनु भएको हो ।
सपथ तथा कार्यभार ग्रहणसँगै अध्यक्ष तथा पदाधिकारीको सोमबार नै पदस्थापन समेत भएको छ । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापा, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा पदस्थापन गराउनु भएको हो । नव निर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन समिति,प्रम्ुख अतिथी,अतिथिहरु, संघका सम्पूर्ण सदस्यहरु, सुरक्षा निकाय लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।
यसअघि, नव निर्वाचित पदाधिकारीहरुको सपथग्रहण समारोहमा बोल्दै संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले बधाई ज्ञापन गर्दै निजी क्षेत्रको दरिलो संस्था बनाउन आग्रह गर्नुभयो ।
स्थानीय निकायले एक्कासी गरेको करको दर वृद्धि, मूल्यवृद्धि जस्ता समस्याहरु मात्र नभएर उद्योगी÷व्यवसायीहरुको आवाजलाई बुलन्द पार्नको लागि निश्चित योजनासहित अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
‘इन्धनमा मूल्य बृद्धि भएको छ,यसले लागत क्षमता बढाउँदा समस्या आएको छ’, उहाँले भन्नुभयो,‘अहिले अस्तव्यस्त बनेको बजारलाई सुधार्न संघले सम्बन्धित निकायमा आवाज पु¥याउनुपर्छ ।’
एकिकृत सम्पत्ति कर खारेज भए पनि महानगरपालिकाले करको दर बढाएकोले संघ त्यसको बिरुद्धमा उभिनु पर्ने पनि उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चुनावमा देखिएको तिक्तता बिर्सेर एक हुन विजेता अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका नव निर्वाचित अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीहरुको म्याण्डेटले विजयी बनेको वर्तमान कार्य समिति नै सही अर्थमा आफ्नो टिम भएको बताउनुभयो ।
‘हिजो चुनाव लड्दै गर्दा सिमित व्यक्तिले बनाएको टिम थियो ’,उहाँले भन्नुभयो,‘त्यो टिम पेन्सिलले लेखिएको थियो, मार्करले लेखिएको थिएन, त्यसैले त्यो मेटिएको छ ।’
उहाँले आफू सबैलाई समेटेर उद्योगी व्यवसायीको पक्षमा काम गर्न तयार रहेको उद्घोष पनि गर्नुभयो । सपथग्रहण कार्यक्रमको संचालन संघका सदस्यता विकास अधिकृत सुरेश रानाभाटले संचालन गर्नुभएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij