२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोडेको कमलपोखरी सार्वजनिक बनाउन जिल्ला अदालत भक्तपुरको फैशला

बोडेको कमलपोखरी सार्वजनिक बनाउन जिल्ला अदालत भक्तपुरको फैशला

1.8K
Shares

अर्थ नेपाल भक्तपुर/ मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः (कमलपोखरी)लाई जिल्ला अदालत भक्तपुरले सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ ।
वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले यसअघिको पैmसला बदर गर्दै मंगलबार सो कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको हो ।
बोडेको सो ऐतिहासिक पोखरीमा फुल्ने कमलको फूल बोडेकै लायकु दरबारमा रहेको तलेजुलाई चढाउने परम्परा रहेको छ । साथै, सो पोखरीको कमलको फूल नीलबाराही नाचका देवगणलाई समेत चढाउनु पर्ने परम्परा रहेको छ । धार्मिक महत्वसमेत बोकेको सो पोखरी २०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भई त्यसयता पटकपटक खरिद बिक्री हुँदै आइरहेको थियो ।

सार्वजनिक पोखरी भएको जग्गा खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग भने गर्न सकेको थिएन । केही वर्ष अघि सो पोखरीमा माटो पुर्न आएका केही व्यक्तिलाई स्थानीयले लछारपछार गर्दै लखेटेदेखि यता पोखरी पोखरीकै रुपमा रहेको छ ।

सो पोखरी सार्वजनिक हुनुपर्ने माग गर्दै स्थानीयले ऐतिहासिक पलिस्वाँ पुखुः संरक्षण समिति गठन गरी आन्दोलन गर्दै आइरहेका थिए । सो पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम हुनुपर्ने माग गर्दै दायर मुद्दामा अदालतले प्रमाणको मूल्याकंनका आधारमा व्यक्तिका नाममा दर्ता हुने गरी यसअघि भएको पुरानो फैसला तथा निर्णय बदर गरी सो पोखरी सार्वजनिक हुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij