
सांस्कृतिक र पुरातात्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबार पुग्दा खासै चहलपहल र आकर्षण देखिएन। बन्द तर मक्किँदै गएका झ्याल-ढोका र प्रवेशद्वार हेर्दा दरबार अझै जीर्ण र अव्यस्थित बन्दै गइरहेको छनक पाइन्थ्यो। उप्किँदै गएको पर्खाल र केही भित्ताको आंशिक भागमा भर्खरै नयाँ माटोले लिपिएजस्तै तह देखियो। र, सोधियो, ‘दरबार कसले स्याहार्दै छ ? ’
सोधखोज गर्दै जाँदा थाहा लाग्यो, झन्डै ६ सय वर्ष पुरानो यो ऐतिहासिक दरबारको बाहिरी भाग एउटा गैरसरकारी संस्थाले आफूखुसी पुनर्निर्माण गर्दै रहेछ।
राज्यका कुनै पनि आधिकारिक निकायलाई थाहै नदिई भइरहेको यस्तो पुनर्निर्माणले दरबारको मौलिकता नै जोखिममा पारिरहेको छ।
‘एकातिर सरकारी निकायको बेवास्ता र अर्कोतिर पुनर्निर्माणका नाउँमा गैससको लापरबाहीले दरबारको परम्परागत सौन्दर्य र यसको साखप्रति व्यंग्य गरिरहेजस्तो लाग्यो’ संस्कृतिविद् मदन रिमाल भन्छन्, ‘राज्यको प्रतिनिधित्वबिना कुनै पनि सम्पदा चलाउन मिल्दैन। दरबारको पुनर्निर्माण पुरातात्विक विभागले जिम्मेवारी लिनुपर्छ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि दरबारको पुनर्निर्माण विषयमा आफूहरूलाई कुनै जानकारी नभएको र कुनै पनि संस्थाले यसको अनुमति नलिएको बताए। उनले भने, ‘पुनर्निर्माण भइरहेको भन्ने कुनै रेकर्ड हामीकहाँ छैन। तर, यस विषयमा बुझ्न भने सकिन्छ।’ यो खबर आजकोअन्नपुर्णपोष्टमा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij