नेपाली साहित्यमा उपन्यासमार्फत फरक सोच उतार्ने साहित्यकारको रुपमा आफूलाई उभ्याउन सफल साहित्यकार हुन्, मालिका केशरी । उनका उपन्यास र लेखहरुमा बौद्ध दर्शनको थोरबहुत चर्चा पाइन्छ । उनको पुनरुत्थान र सुवर्णलता उपन्यास प्रकाशित छन् । भर्खरै प्रकाशित उपन्यास सुवर्णलतालाई पाठकहरुले बौद्ध दर्शनको एक महत्वपूर्ण कृति भएको बताइरहेका छन् । उपन्यास सुवर्णलताको सेरोफरोमा रहेर अर्थ नेपाल डट कमले गरेको कुराकानीको अंश ।
हिजोआज के गर्दै हुनुहुन्छ ?
अचेल म लेखनभन्दा पनि अध्ययन गरिरहेको छु । लेखकका लागि लेख्नु जति महत्वपूर्ण छ, पढ्नु पनि उत्तिकै आवश्यक छ । म स्वदेशी र विदेशी गरी यो वर्ष कम्तीमा एक सय पुस्तक अध्ययन गर्ने विचारमा छु । साथै २०७५ मा प्रकाशन गर्ने उपन्यासका लागि सन्दर्भ सामग्री जुटाइरहेको छु ।
तपाईंको उपन्यास सुवर्णलता प्रकाशित भयो । चर्चा पनि राम्रै पायो । सुवर्णलतामा विशेष के छ ?
सुवर्णलतालाई लिएर पाठकबाट जुन स्नेह एवं सद्भाव पाएँ, त्यसबाट म अझ उत्साहित भएको छु । सुवर्णलतामा बालकदेखि प्रौढसम्मका मानिसलाई समेट्ने विषयवस्तु छन् । उनीहरुकाअनुभव र भोगाइ छन् । पाठक त्यही विषयवस्तुमा रमाउँछन् जहाँ उनीहरु स्वयंलाई भेट्छन् । सायद यसै कारण पनि हो, सुवर्णलता किशोरदेखि जीवनको धेरै आरोह अवरोह पार गरेका पाठकले मनपराइदिनुभयो । कतिले त फोनै गरेर सुवर्णलता अझ पनि जीवित छिन् भनेर सोध्ने गरेका छन् । यसैले मैले आफू लेखकीय रुपमा सफल भएको ठानेको छु ।सुवर्णलतामा तपाईंले दुई फरक कथालाई जोड्नुभएको छ ।
के यसरी दुई कथालाई जोड्न आवश्यक थियो र ?
अधिकांश पाठकले सोध्ने गरेको प्रश्न यही हो । मैले वर्तमान र बौद्धकालीन समयमा महिलाको अवस्था कस्तो थियो भन्ने देखाउन खोजेको हुँ । महिलामा स्वनिर्णय अधिकार, सम्पत्तिमाथिको अधिकार, सामाजिक तथा परिवारिक स्थान कस्तो छ र थियो, त्यो चित्रण गरेको हुँ । त्यसैले पनि त्यहाँ दुई कथा जोड्न आवश्यक थियो झैं मलाई लाग्यो ।
तपाईंका पुस्तकमा बौद्धदर्शनको चर्चा थोरबहुत पाइन्छ ?
हजुर बौद्धधर्मावलम्बी कि बौद्धदर्शनबाट प्रभावित ?मैले धार्मिक रुपमा सबैमा सद्भाव राख्छु । पारिवारिक पृष्ठभूमि हिन्दु नै हौ । राम्रा कुराको प्रभाव सबैमा पर्छ नै । बुद्धका ती अमर ज्ञानले मलाई मात्र हैन, जो कोही प्रभावित हुन्छन् ।सुवर्णलताको एक पात्र अनुपमाको प्रेम प्रसंगमा उनी शोषित छिन् । उनका प्रेमीले उनलाई उपभोग्य वस्तुको रुपमा प्रयोग गरेर छाडेको छ । फेरि अनुपमा आफैं सक्षम भएर पनि लुटिएकी छिन् । आफू लुटिएको शोषित भएको अवस्थामा पनि चुपचाप सहरेर बस्नुले तपाईंले नारी कमजोर नै भएको प्रमाणित गर्न खोज्नुभएको हो ?पहिलो कुरा त नारी कमजोर हुन् भन्ने कुरामैम सहमत छैन । मैले नारीको कमजोरी र कमजोर अवस्थाको चित्रण गर्न खोजेको पनि होइन । मैले त्यो खण्डमाहाम्रो समाजको चित्र उतार्ने कोसिस मात्र गरेको हुँ । समाजले नारीलाई कुन हदसम्म त्रासमा राखेको छ । उनीहरु आफूमाथि भएको शोषणको पनि खुलेर विरोधमा उत्रन सक्दैनन् भन्ने दोखाउन खोजेको हो ।तपाईं पुरुष हुनुहुन्छ । उपन्यासको मुल पात्र नारी छिन् ।
एक पुरुषले नारीको अन्तरवेदना र पीडाको अनुभूति कसरी गर्न सक्छ ?
मेरो विचारमा पुरुष र नारी दुई फरक पात्र नै होइनन् । नारीको अपूरो भाग पुरुष हो र पुरुषको पूर्ण स्वरुप नारी हुन् । अर्थात् दुईको एकाकार स्वरुप नै पूर्ण रुप हो । त्यसकारण पुरुष र नारी दुवैमा आफ्नो पूर्ण अंशको चेत नहुने भन्ने हुँदैन जस्तो लाग्छ ।सुवर्णलतालाई लिएर पाठकबाट जुन स्नेह एवं सद्भाव पाएँ, त्यसबाट म अझ उत्साहित भएको छु । सुवर्णलतामा बालकदेखि प्रौढसम्मका मानिसलाई समेट्ने विषयवस्तु छन् । उनीहरुकाअनुभव र भोगाइ छन् । पाठक त्यही विषयवस्तुमा रमाउँछन् जहाँ उनीहरु स्वयंलाई भेट्छन् ।
तपाईंको उपन्यास सुवर्णलतामा नायिकाको आयु पच्चीस सय वर्षभन्दा धेरै देखाइएको छ ?
के यो विज्ञान सम्मत छ त?मैले उपन्यासमा विज्ञानको पाटोभन्दा पनि अध्यात्मको पाटोलाई केलाउन खोजेको हुँ । हाम्रो पूर्वीय संस्कृतिमा तपस्या र योगबलले हजारौं वर्ष बाँचेका धेरै उदाहरण हामीले सुन्दै आएका छौं । हाम्रै युगमा पनि योगीहरुका कैयौं चमत्कारका प्रसंग सुनिन्छ, जसलाई विज्ञानको आँखाबाट हेर्दा अपत्यारिलो लाग्छ । फेरि विज्ञानका हरेक सत्य पनि सदाका लागि सत्य हुँदैनन् । हरेक सत्यको निश्चित आयु हुन्छ नै । हामीलाई अपत्यारिलो लागेको सत्य विज्ञानको सीमाले नभेटेको पनि हुन सक्छ ।छोटकरीमा भन्दा बुद्धका उपदेश के हुन् ?स्वंयलाई चिन । वर्तमानमा नै बाँच ।
तपाईं दर्शनका विद्यार्थी हुनुहुन्छ?
मैले औपचारिक रुपमा दर्शनको कक्षा लिएको त छैन । तर अनौपचारिक अध्ययन गरेको छु, चिन्तन गरेको छु, मनन गरेको छु । यसैले मैले आफूलाई दर्शनको विद्यार्थी हुँ भन्न सक्छु ।साहित्य भनेको रसिलो विषय हो र दर्शनलाई निरस भनिन्छ । तपाईंले उपन्यासमा यो कसरी समन्वय गर्नुभयो ?पहिलो कुरा दर्शन निरस विषय हो भन्नेमा म असहमत छु । दर्शन भनेको जीवनलाई हेर्ने दृष्टिकोण हो । जसले व्यक्ति र समाजलाई फरक नजरले हेर्न सिकाउँछ । यति महत्वपूर्ण पक्षलाई हामी निरस भनेर पन्छाउन सक्दैनौं । जसरी नरिवलको बाहिरी आवरण कठोर तर भित्रको गुदी नरम एवं स्वादिष्ठ भए जस्तै दर्शन पनि सरस विषय हो । त्यसको गहिराइमा पुग्न आवश्यक छ ।तपाईंको विचारमा प्रेम के हो ?सुवर्णलतामा प्रेमलाई यसरी व्याख्या गरिएको छ । “प्रेम, मोह र दुःखको दोस्रो स्वरुप हो । बन्धन र खुसीको सीमा हो । जब खुसीका लागि सीमा हुन्छ । त्यो खुसी सर्वव्यापी हुनैसक्दैन । त्यसकारण प्रेम दुःखको कारण हो ।”
अन्त्यमा, तपाईंको आगामी उपन्यास कुन विषयमा आधारित हुनेछ ?
अहिल्यै म यो सबै बताउन चाहन्न । मात्र यति भन्छु, अब आउने उपन्यासको कथावस्तु नेपालमा रहेका तिब्बती शरणार्थीको पीडा र व्यथामा आधारित हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij