२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जव औषधि बोकेर ड्रोन उड्यो…

जव औषधि बोकेर ड्रोन उड्यो…

1K
Shares

अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन ।

यसको पिठ्युँमा थियो– एक किलो औषधिको बाकस । राम्चेको हेल्थपोस्टमा जमिनदेखि करिब १५ मिटर उचाइबाट औषधि खसालेर ड्रोन पुन: नागी फर्कियो ।

आठवटा पंखा जोडिएको यो अप्टोकप्टरको समुद्री सतहबाट २ हजार ५ सय मिटरदेखि ३ हजार मिटर उचाइसम्मका बस्तीमा सफल उडान परीक्षण गरिएको हो । ‘हाई अल्टिच्युडमा पनि भारसहित अप्टोकप्टर ड्रोनले १५ सय मिटर दूरीमा सफल उडान भरेको छ,’ ड्रोन निर्माणको नेतृत्व गरेका राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर सुरज कार्कीले भने, ‘हामी उत्साही छौं, भविष्यमा दुर्गम ग्रामीण भेगका जनताको उपचारमा हाम्रो ड्रोन उपयोगी हुनेछ ।’

अग्ला डाँडाका कारण पहाडी क्षेत्रमा एउटा गाउँबाट अर्कोमा पुग्न थुप्रै घण्टा लाग्छ । यस्तोमा औषधिजस्ता अत्यावश्यक चिज पुर्‍याउन ड्रोन प्रभावकारी हुने अनुमान गरिएको छ ।

डाँडापाखामा छरिएर रहेका तथा पातलो जनसंख्या भएका दुर्गम ग्रामीण बस्तीमा छिटो र सजिलोसँग औषधि पुर्‍याई जनताको स्वास्थ्योपचार गर्न यस्ता मेडिकल ड्रोन लाभदायी हुने अपेक्षा गरिएको छ ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij