खगेन्द्र सुवेदी
अधिवक्ता
अधिवक्ता खगेन्द्र सुवेदी अहिले विहानदेखी बेलुकासम्म न्यायका पक्षमा काम गरिरहेका हुन्छन् । कानुन व्यवसायीक भएको नाताले उनको मुख्य काम भनेकै आम मानिसलाई कानुनी सेवा दिनु हो । आफ्नो पेशा प्रति जिम्मेवार रहेका सुवेदी इमान्दारका साथ काम पूर्ण गर्दछन् । त्यहि कारण आज उनी सफल भएका छन् । दुई दशक भन्दा बढि समय सुवेदीले कानुन क्षेत्रमा विताइसकेका छन् । पूर्वको तेह्रथुममा जन्मेका सुवेदी सानैदेखी प्रशासन क्षेत्रमा जान्छु भन्ने सोचका साथ अघि बढे । सानैदेखी शान्त स्वभावका सुवेदी पढ्नमा सधै ध्यान दिने गर्दथे । शिक्षामा अब्बल रहेका सुवेदीको उच्च शिक्षा अध्ययन गर्ने क्रममा सपना बदलियो । प्रशासन क्षेत्रमा नभई उनी कानुनी क्षेत्रमा जाने निधोको साथ कानुुन अध्ययन गर्न थाले । गाउँकै विद्यालयबाट स्कुल शिक्षा पुरा गरेका सुवेदीले नेपाल ल क्याम्पसबाट २०४७ सालमा विएल पास गरे । २०४८ सालमा अधिवक्ताको लाइसेन्स प्राप्त गरेपछि उनको वकालतको क्षेत्रमा सक्रिय भए । आज पनि उनी निरन्तर वकालतको क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । सुवेदीको परिवार प्रशासनिक क्षेत्रमा रहेका थिए । त्यहि कारण पनि उनको मानसपटलमा प्रशासनिक क्षेत्रमा काम गर्नु पर्छ भन्ने सोच विकास भएको थियो । तर पछि उनको सोच बदलियो ।
आज आफुले गरेका काम प्रति पूर्ण सन्तुष्ट रहेको सुवेदी बताउँछन् । अधिवक्ताका रुपमा रहेका उनले नेपालको न्यायिक क्षेत्रलाई नजिकबाट बुझेका छन् । अदालतमा फैशला ढिला हुनुको कारण सबै अध्ययन अनुसन्धानको लागि समय लागेर भएको उनले बताए । न्यायिक क्षेत्रमा हतारमा निर्णय गर्दा पनि निर्दोष पर्ने सम्भावना भएको कारण पनि ढिला भएको उनी बताउँछन् । यसका लागि सम्बन्धीत निकायहरुले आफ्नो काम समयमा गर्ने हो भने पनि समस्या नआउने उनले बुझेका छन् ।
अहिले कानुन व्यवसायी धेरै भएको कारण पनि कानुनका बारेमा बुझ्नलाई सजिलो भएको छ । हिजो गाउँका शिक्षक र जान्ने बुझ्नेलाई साधेर जान्ने अवस्था भएपनि अहिले अधिवक्तासंग सहज पहुँच भएको हुँदा सिधै कानुनी सेवा लिने गरेको सुवेदी बताउँछन् । केहि समस्या भए वकिलसंग सल्लाह लिने र कानुनी उपचार खोज्ने क्रम बढेको उनले देखेका छन् । अब स्थानिय तहमा धेरै न्यायिक काम हुने हुँदा सबै ठाउँमा कानुनी ज्ञान दिनु पर्ने आवश्यकता सुवेदीले देखेका छन् । प्रतिस्पर्धा धेरै भएको हुँदा आफ्नो कामको शुल्क बाहेक अन्य शुल्क नलिएको सुवेदीको तर्क छ । केहिको बदमासी भने रहेको उनले स्वीकारे । एउटा मुद्धा फैशला हुनका लागि कम्तिमा ६ महिना लाग्ने गरेको सुवेदीले बताए । अब गाउँगाउँ वडासम्म कानुनका बारेमा जनचेतना जगाउने कार्यक्रम लैजानु पर्ने आवश्यकता सुवेदीले देखेका छन् ।
अधिवक्तालाई सामाजिक अभियन्ताका रुपमा बुझेका सुवेदीले जीवनलाई संघर्षका रुपमा बुझेका छन् । सुवेदीले आजको अवस्थासम्म आइपुग्न धेरै संघर्ष गरेका छन् । हिजोको कठिन यात्राले नै सफलताको मार्गमा जान सहज भएको उनी बताउँछन् । संघर्ष विना सफलता पाउन गाह्रो हुने सुवेदीले बुझेका छन् । कानुन व्यवसायी जिम्मेवार हुने हो भने पीडितले समयमा न्याय पाउने थिए । मेहनत, परिश्रम र लगनशिल भएर एउटै काममा लाग्ने हो भने मात्र सफल हुने उनको विश्वास छ । अधिवक्ता भनेको सधै अध्ययनशिल हुने भएको हुँदा नयाँ आउने कानुनका विद्यार्थीहरुलाई गहिराईमा पुगेर अध्ययन गर्न उनी आग्रह गर्दछन् ।
परिवारको साथ र सहयोगको कारण आज सफलताको शिखर चढ्दै गरेका सुवेदी परिवारको साथ खुशी जीवन विताइरहेका छन् ।
प्रस्तुति : मनोज थापा
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij