
अर्थ नेपाल संवाददाता
काठमाडौं/नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका आइजीपीले अवकास पाउने भएपछि दुवै प्रहरी संगठनमा नयाँ नेतृत्वको खोजी सुरु भएको छ । चैत्र २८ गतेबाट नेपाल प्रहरी भित्र २६ उच्च अधिकृतले एकसाथ अवकास पाउने भएपछि संगठनमा आईजीपी सहितका उच्च अधिकारीहरु परिर्वतन हुने भएको छ । नेपाल प्रहरीको आईजीपीका लागि चर्चित ३ डिआईजीहरु चर्चामा छन् । एआईजीहरुले अवकास पाउने भएपछि डिआईजीबाटै आईजीपी बनाउनु पर्ने अवस्था आएको हो । यसैगरी सशस्त्र प्रहरी बलमा पनि आईजीपी सहितका उच्च अधिकृतहरुको अवकास हुँदैछ ।
नेपाल प्रहरीमा डिआईजी सर्वेन्द्र खनाल, पुस्कर कार्की र रमेश खरेल आईजीपीका दावेदार हुन । तिनै जना कार्य दक्षताको हिसावले राम्रा
मानिन्छन् । विभिन्न कार्यालयहरुको नेतृत्व गर्दा उनीहरुको काम जनस्तरमा नै प्रशंसनिय मानिएको छ । वरियताका आधारमा खनाल पहिलो नम्बरमा छन् । विगतमा वरियता विवादका कारण सरकारबाट निर्णय भएपनि जयबहादुर चन्दले आईजीपी हुने सौभाग्य पाएनन् । वरियता सम्बन्धी सर्वोच्चको फैशला र नजिर समेत छ ।
यस हिसावले खनाल नेपाल प्रहरीको आईजीपी हुने निश्चित जस्तै छ । तर खरेल र कार्की पनि निर्णय आफ्नो पक्षमा पार्न प्रयासरत छन् । आईजीपीका आकांक्षीहरु यतिबेला राजनीतिक नेतृत्वको ढोका चाहारिरहेका छन् । प्रहरी जस्तो व्यवसायीक संगठनमा राजनीतिक आस्थाको आरोप लगाउँदै एकले अर्काेलाई कमजोर बनाउने प्रयत्न पनि जारी छ । दुवै संगठनको आईजीपीको लागि गृहमन्त्री रामबहादुर थापाले मात्र होइन प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललेसम्म चासो दिएका छन् । थापाले ओली र दाहालले सिफारिस गरेका व्यक्तिलाई नै बढुवाका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने जनाउ दिइएको बताइन्छ ।
यता सशस्त्रमा एआईजी शैलेन्द्र खनाल अन्य प्रतिस्पर्धी भन्दा निकै अघि छन् । बढुवामा एक व्याच अघि परेका खनाल करिब–करिब एक्लो प्रतिस्पर्धी हुन । व्यवसायीक कुशलता र सार्वजनिक छबिका दृष्टिले उनी अब्बल मानिन्छन् ।
नेपाल प्रहरीबाट अवकास अवकास पाउने अधिकृतहरुमा आईजीपी अर्यालसगैं एआईजीहरु जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायश्त, रणबहादुर चन्द, विजयकुमार भट्ट, मधु पुडासैनी, पंकज श्रेष्ठ, माधवप्रसाद नेपाल र हेमन्तबहादुर पाल छन् । चैत्र २८ मा नै डिआईजीहरु गेविन्दप्रसाद निरौला, रोमिन्द्रसिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमान सिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित र एसएसपी विष्णुहरी गौतमले पनि अवकास पाउँदैछन् ।
ठुलो संख्यामा प्रहरी अधिकृतहरुले अवकास पाउने भएपछि आईजीपी बन्न मात्र होइन एआईजी र डिआईजी बन्नेहरुको पनि दौडधुप सुरु भएको छ । एसएसपी केदार रिजाल, दीपककुमार थापा, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, पूर्णचन्द्र जोशी, श्याम खड्का, रविन्द्रप्रासद शर्मा, कमल जीटि, नारायण सिंह खड्का, दानसिंह बोहरा, सुरज केसी, विकास श्रेष्ठ, दिनेश अमात्य लगायतका अधिकृतहरु दौडधुपमा छन् ।
दुवै प्रहरी संगठनको नेतृत्वको सामु थुप्रै चुनौति छन् । संगठनले गुमाएको साख फिर्ता गर्दै दक्ष र व्यवसायीक संगठनको रुपमा अघि बढाउनु दुवै प्रहरी संगठनको नेतृत्वको जिम्मेवारी हुनेछ । संघिय शासन व्यवस्था अनुरुप दुवै प्रहरी संगठनलाई रुपान्तरित गर्नु पनि नेतृत्वको चुनौति हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij