
अर्थ नेपाल संवाददाता
काठमाडौं / नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरे ।
कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी लिन सकिने छ । सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म लिन सकिने छ । सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।
कमसेकम ३ महिना पहिले देखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा लिन सकिने छ । कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि STATUS लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि STOP लेखेर र फेरि यही सुविधा लिनका लागि START लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ ।
एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij