
अर्थ नेपाल संवाददाता
काठमाडौं / गैंडाको खागसहित नेपाली सेनाका दुई जनासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौंको लैनचौरमा गैंडाको दुई थान खाग लिएर हिँडिरहेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट बरामद खाग एटा ११८० ग्राम छ भने अर्को ६४० ग्रामको रहेको छ ।
प्रहरीले नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो । उनीहरुसँगै प्रहरीले गोरखा सिरानचोक २ का ३८ वर्षीय डिलबहादुर ढकाललाई पनि पक्राउ गरेको छ ।
हरिबहादुर र कृष्णबहादुरले नेपाली सेनाको परिचयपत्र देखाएपछि उनीहरुलाई कारबाहीका लागि जंगी अड्डामा पठाएको सीआईबीले जनाएको छ । प्रहरीले डिलबहादुरलाई भने कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij