२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालका नयाँ अरनिको जापानी पहरामा बुद्धमूर्ति खोप्दै !

नेपालका नयाँ अरनिको जापानी पहरामा बुद्धमूर्ति खोप्दै !

2.4K
Shares

 

इटहरी/ जापानको कामिआमाकुसा सहरको एउटा विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछ । विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु अहोरात्र खटिरहेका छन् ।

मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मितेरीसँगै काम गर्छन् मूर्तिकार त्रयः काभ्रेका शानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राई बान्तवा ।

लाग्छ, यिनीहरु आधुनिक ‘अरनिको’हरु हुन्, जसले विदेशमा गएर ललितकलामा देशको ख्याती कमाउँदैछन् ।

कामिआमाकुसा सहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा दैनिक ८ घण्टा खट्छन् नेपाली मूर्तिकारहरु ।

सन् २०१६ को सेप्टेम्बरबाट सुरु गरिएको बिशाल मूर्ति निर्माण अभियान ५ बर्षमा सक्ने भनिए पनि समय लम्बिने सम्भावना पनि रहेको मितेरी बताउँछन् ।

पाँच बर्षभित्र ६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति बनाइसक्नु छ,’ जापानबाट अनलाइखबरसँग कुरा गर्दै मितेरीले भने, ‘यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाएर विश्व सम्पदा सुचिमा पार्ने यसका प्रायोजक एवं जापानी सरकारको लक्ष्य छ ।’

जापानमा बुद्धमूर्ति निर्माणको साइत जुराउने त्यो पल

जापानी व्यापारी ओसिमा सिजुकीको ३० बर्ष अगाडिको परिकल्पना हो पहरामा विशाल बुद्ध मूर्ति निर्माण गर्ने । जुन, परिकल्पना साकार पार्ने अवसर पाएका मितेरीलाई भने जापानको इन्टरनेसनल कन्टि्रब्युसन कलेज पढ्ने चितवनका दिलिप लामिछानेले जोडेका हुन् ।

सिजुकीको बुद्ध मूर्ति परियोजना सुनेपछि लामिछानेले मञ्जुल मितेरीको नाम सिफारिस गरेका थिए । अन्ततः मितेरीका आकर्षक मूर्तिहरु हेरेर ओसिमा सेकिबुतुयामा भन्ने कम्पनीले स्वीकार गर्‍यो । जहाँ म्यानेजरकै भूमिकामा छन् दिलिप लामिछाने, जसले मितेरी र सिजुकीको विद्यार्थी हुँदै लिंक गरिदिएका थिए ।

‘नेपाल बुद्धभूमि भएको चिनाउने दीर्घकालीन प्रमाण’


आफूले काम गरेबापत पाउने रकमभन्दा पनि देशको प्रतिनिधित्व ठूलो भएको मितेरीको भनाइ छ । ‘यहाँ हामीले पाएको पारिश्रमिकले त्यति अर्थ राख्दैन, जति अर्थ यहाँ बुद्धका देशका मूर्तिकारहरुले छाडी गएको विशाल बुद्ध मूर्तिले राख्नेछ’, मितेरी भन्छन्, ‘अझ विश्व सम्पदामा सुचीकृत भएपछि त हाम्रोभन्दा हाम्रो देशको शान बढ्नेछ । बुद्धको जुन्मभूमि नेपाल भन्ने प्रमाण हुनेछ ।’

नेपाल बुद्धभूमि भएको चिनाउने दीर्घकालीन प्रमाण आफूले बनाइरहेको मूर्ति भएको मूर्तिकार मितेरी बताँउछन् ।

‘अहिले मूर्ति निर्माणका दौरानमै पनि धेरै जापानीहरुले बुद्ध नेपालमा जन्मेका भन्ने थाहा पाइसकेका छन्’, अनलाइनखबरसँग कुरा गर्दै मूर्तिकार मितेरी भन्छन, ‘अझ विश्व सम्पदा सूचिमै सूचीकृत भएपछि त झनै विश्वभरबाट यो क्षेत्रमा घुम्न आउने पर्यटकहरुले थाहा पाउँनेछन ।’

नेपालका पाखा भित्तामा मूर्ति उभ्याउन सकिन्छ

मितेरीसहितका ४ नेपाली मूर्तिकारहरुले जापानमा बुद्धको मूर्ति निर्माणको ३५ प्रतिशत काम सकेका छन् । सन् २०२३ भित्र सबै काम सकेर नेपाल फिर्ने योजना छ उनीहरुको ।

तर, नेपालीले जापानी पहरोमा बुद्धको मूर्ति बनाएको देखेका जापानीहरुले अन्य स्थानमा झन ठूला मूर्ति बनाउने प्रस्तावसमेत ल्याएको नेपाली मूर्तिकारहरु बताउँछन् ।

‘हामी हाम्रो यो परियोजना सकेर नेपाल र्फकने सोचमै छौँ’, मितेरी भन्छन, ‘तर हामीलाई यहीँ नै अन्य मूर्तिहरु बनाउनुपर्छ भन्ने प्रस्ताव आएका छन् ।’

नेपालमा आएर नै थप मूर्तिकर्म गर्ने बताएका मितेरी नेपालमा आफूले प्रतिवद्धता जनाएको देशलाई हजार मूर्ति उपहार दिने अभियान जारी राख्ने बताउँछन् ।

विश्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाइसक्ने र राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् ।

हजार मूर्ति राज्यलाई हस्तान्तरण गर्ने आफ्नो अभियानसँगै जापानी अनुभवबाट नेपालका भित्ताभित्तामा मूर्ति बनाउन सकिने पनि मितेरी समूहको तर्क छ ।

‘आज एक सामान्य पहरोमा जापानका एक व्यापारीको खर्चले बुद्ध मूर्ति बन्दैछ । भोलि यहाँको पर्यटन र विश्वसम्पदा सूचिमा परेपछि यहाँको लागत शुल्क उठीहाल्छ’, मितेरी भन्छन, ‘नेपालमा पनि नेपालसँग जोडिएका भगवानहरुका मूर्तिहरु नेपालका पहरामा बनाएर मूर्ति पर्यटन बढाउन सकिन्छ ।’

बुद्ध, बुढासुब्बा वा फाल्गुनन्द आदि नेपाली माटोसँग जोडिएका आध्यात्मिक तथा धार्मिक धरोहरहरुको मुर्ति बनाएर पर्यटन र ललितकलासँगै अगाडि बढ्ने मितेरीको भनाइ छ ।

तर, यो सबै काम गर्न कुनै व्यक्ति नभएर राज्य नै लाग्नुपर्छ । नेपालका ललितकला प्रतिस्ठान, पर्यटन बोर्डलगायतको पहलमा यस्तो काम गर्न सकिने मितेरीको सुझाव छ ।

‘नेपालका भित्ताभित्ताका पहरामा आकर्षक र विशाल मूर्ति बनाएको खण्डमा नेपाली पर्यटनमा अथाह कमाइ बढ्छ । साथै नेपाली ललितकलाको पनि उचाइ बढ्छ’, मितेरी भन्छन्, ‘यो सबै गर्न अब बन्ने प्रदेश वा संघीय सरकारले पनि पहल र नेतृत्व गर्न सक्छ ।’

साभार : विराट अनुपम/ अनलाईनखबर डट कम

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij