२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार रत्नशमशेरसहित सात जना सम्मानित हुने

म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार रत्नशमशेरसहित सात जना सम्मानित हुने

2.7K
Shares

राष्ट्रपुकार काठमाडौं /यहि २२ गते सम्पन्न हुन गइरहेको म्यूजिक खबर म्यूजिक अवार्डका अवसर पारेर विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गर्न लागिएको छ । छैटौं संस्करणको यस म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिनेछ भने वरिष्ठ गीतकार रत्नशमशेर थापालाई २५,५५५ नगद राशिसहित म्यूजिक खबर दीर्घ साधना सम्मान २०७४ प्रदान गरिने भएको छ ।
वि.सं. २००८ सालबाटै अर्थात् बाह्रवर्षे उमेरदेखि नै कविता लेख्न थाल्नुभएको रत्नशमशेर थापाले वि.सं. २००९ सालबाटै गीत पनि लेख्न थाल्नुभएको हो । उहाँका लामा कविता, नाटक, कथा पनि छापिएका छन् तर पनि उहाँ छोटा सिर्जनामै रमाउने गर्नुहुन्छ । २०२० सालमा ओभानो सिउँदो र २०२६ सालमा रुझेको परेला गीतसङ्ग्रह प्रकाशित छन् । त्यस्तै, २०३६ सालमा चकलाभरिको घाम र २०६० सालमा ताराका काँचा रङ नामक कवितासङ्ग्रह प्रकाशित छन् । वि.सं.२०४२ मा ’दोभान’ शीर्षकमा उहाँका गीतहरूको एलबम निकालेको थियो म्युजिक नेपालले । हजारौं गीत लेखेर नेपाली गीतसंगीत उद्योगमा सदाबहार गीतकारको छवि बनाउनुभएका उहाँलाई छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।
त्यसैगरी सुमधुर स्वरका धनी गायक शिशिर योगी र गायिका सत्यकला राईलाई म्यूजिक खबर दशकको सम्मान २०७४ प्रदान गर्न लागिएको हो । सारङ्गी त रेटे पनि, मानिस खोजिरहेछु जस्ता सयौं कालजयी गीतमा स्वर दिइसकेका शिशिर योगी संगीत सिक्ने विद्यार्थीका लागि एउटा स्कुल बन्नुभएको छ । गीतसंगीतको क्षेत्रमा एक दशकभन्दा लामो समय सक्रिय रही गीतसंगीतमा पु¥याउनुभएको योगदान अतुलनीय छ । त्यस्तै आइडी कार्डैले, ढडिया थापिदेउ, तिमी मसँग नबोल्ने अरे, इन्टरनेटैमा जस्ता सयौं गीतमा आफ्नो सुमधुर आवाज दिएर गीतसंगीतको क्षेत्रलाई पु¥याएको अतुलनीय योगदान अतुलनीय छ । योगी र राईलाई छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा म्यूजिक खबर दशकको सम्मान प्रदान गर्न लागिएको हो ।

त्यसैगरी पछिल्लो समयमा बाल आवाजलाई बुलन्द पार्दै अघि बढेका प्रतिभा बेगेन्द्र बुढालाई यस वर्षको म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिन लागिएको हो । ताम्रपत्र, ट्रफी र दोसल्ला ओढाएर सम्मान गरिनेछ ।
त्यसैगरी यस वर्षको म्यूजिक खबर युवा प्रतिभा सम्मान गीतकार एवं संगीतकार पदम रोकायालाई प्रदान गरिन लागिएको छ । ६० सालबाट निरन्तर लोकदोहोरी, आधुनिक गीत लेखन एवं संगीत सिर्जनामा लागिपरेका पदम रोकायाका गीत जति चर्चामा आए आफू भने ओझेलमा परिरहनु भयो । ताम्रपत्र, ट्रफी र दोसल्ला ओढाएर सम्मान गरिनेछ । जुम्लामा जन्मिएर नेपाली गीतसंगीतलाई कर्मथलो बनाउँदै आउनुभएका रोकाया युवापुस्तामा राम्रा सर्जकका रुपमा परिचित छन् ।
‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट संचारकर्मी डा.नवराज लम्साललाई पुरस्कृत गर्न लागिएको छ । डा.लम्साललाई ५५५५ नगद राशिसहित पुरस्कार प्रदान गरिनेछ । रेडियो नेपाल, बीबीसी रेडियो जस्ता ठूला मिडियामा आफ्नो स्वरको माध्यमबाट संचार क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आउनुभएका डा.लम्सालले नेपाली गीतसंगीतमा उदाहरणीय कार्य गर्दै आउनुभएको छ । नेपाली साहित्य, गीत संगीतलाई केन्द्रविन्दूमा राखेर संचार क्षेत्रमा अहोरात्र खटिरहने संचारयोद्धा हुनुहुन्छ । छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।
त्यसैगरी नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो समय खर्च गरिसक्नुभएका बुद्धिमान घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्न लागिएको छ । उहाँले लोकदोहोरी गीत लेखन एवं गायनमा सक्रिय रहँदै आधुनिक गीततर्फ पनि निरन्तर कार्य गर्दै आउनुभएको छ । प्रवासमा रहेर घरबासको गीतसंगीतमा लगानी गर्दै आउनुभएका घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij