२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निगुरो बिक्रीबाट परिवारको खर्च जुटाउँदै सरिता

निगुरो बिक्रीबाट परिवारको खर्च जुटाउँदै सरिता

965
Shares

सुनसरी- बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आउनुभएको छ ।

दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्चका साथै घरमा दैनिक प्रयोग गरिने नुनतेल किन्नेदेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगुरोमा कुनै लगानी गर्नु पर्दैन, जङ्गलबाट टिपेर ल्याएर बेच्दा फाइदा हुन्छ, बिनालगानी पैसा कमाउन सकिन्छ तर बिहानै जान पाए धेरै पाइन्छ, छोराछोरीलाई स्कुल पठाउनुपर्ने भएकाले दिउँसोमात्र निगुरो जङ्गल टिप्न जान पाउँछु ।” उहाँले निगुरो रामधुनीको जङ्गलभित्रबाट टिपेर ल्याई रामधुनी मन्दिर नजिकै सडक छेउमा दिनभर बेचेर बेलुका घर पर्कने गरेको सुनाउनुभयो ।

उहाँका अनुसार धेरै सङ्कलन भएको दिन इटहरी, इनरुवा, झुम्कालगायतका व्यापारीले आएर लैजाने गरेका छन् भने थोरै भए बाटो हिँड्नेले नै खरिद गर्ने गरेको उहाँले बताउनुभयो । सङ्कलन गरेको निगुरो सानो मुठा रु २० मा बिक्री हुने गरेको छभने अलिक ठूलो मुठा रु ५० मा बिक्री हुने गरेको उहाँले बताउनुभयो । तीन वर्ष अगाडिदेखि निगुरो बेच्न सुरु गर्नुभएको उराँवले दसैँ, तिहारको समयमा भने बढी आम्दानी हुने गरेको बताउनुभयो ।

दसँैतिर धेरै मानिस घरायसी काममा व्यस्त हुने भएकाले जङ्गल जान पाउँदैनन् । त्यो समयमा भने निगुरो टिप्न सजिलो हुने उहाँले बताउनुुभयो । दसँैँतिहारको आधा खर्च यही निगुरो बिक्रीबाटै जुटाउँछु, निकै सहयोग पुग्छ मलाई । उराँवका अनुसार जङ्गलबाट टिपेर ल्याइने निगुरो पूर्ण अग्र्यानिक हुने भएकाले स्वादिलोमात्र नभई स्वास्थ्यका लागि लाभदायी पनि हुन्छ । जति धेरै टिपे पनि बिग्रने चिन्ता हुन्न, सबै बिक्री भइहाल्छ । उहाँले भन्नुभयो, “अहिलेको सिजनमा बारीमा सागसब्जी रोपेर बेच्नुभन्दा निगुरो टिपेर बेच्दा धेरै फाइदा हुन्छ ।”

उहाँले चैतदेखि असोज, कात्तिकसम्म निगुरो टिप्ने मौसम हुने बताउनुभयो । यसैबाट छोराछोरीको स्कुलको खाजा खर्च, नुनतेलदेखि लिएर कहिलेकाहीँ बजार जाने खर्चसमेत पुग्ने बताउनुभयो ।

बराहक्षेत्र क्षेत्रमा सरिता उराँवजस्ता धेरै परिवारका लागि जङ्गलबाट निगुरो सङ्कलन गरी आयआर्जनको प्रमुख स्रोत बनेको छ । जङ्गलमा पाइने यस्ता अग्र्यानिक वनस्पतिले सिजनअनुसार स्थानीय महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याएको छ । रामधुनी मन्दिर नजिकैको सडकमा बिहान निगुरो बेच्ने एक दर्जनभन्दा बढी महिलाहरू भेटिनुहुन्छ, उहाँहरू निगुरो बेचेरै घरखर्च टार्ने गरेको बताउनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij