काठमाडौंँ – चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आगामी असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ नाम दिइएको छ ।
गीतकार तामाङको हालसम्म सयौं गीतहरु रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरु नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् ।
प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिका देखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दिप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान डेबिड शंकर, रुपक चौधरी, प्रदिपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उनका चर्चित गीतहरुमा गुञ्जिने छन् ।
कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको छ । गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार बसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यहरमा अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई (शिव), कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुन बहादुर घलान र गोपालचन्द्र राई रहेका छन् ।
‘टेक तामाङ सांगीतिक साँझ –२०८२ ’ ले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । थापाले भने – नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं बिशिष्ट साहित्यकार बैरागी काइँलाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा सांगीतिक क्षेत्रका लोकप्रिय एवं विशिष्ट व्यक्तित्वहरुका बाक्लो उपस्थिती रहने छ । नेपाली संगीतको प्रवद्र्धनका लागी पनि यो कार्यक्रमको आयोजना गरिएकाले पनि गीत संगीतका सम्बन्धी संघसंस्था, व्यवसायी, समाजसेवी, पत्रकार र संगीतप्रेमी सबै सामु सहयोगको अपेक्षा र आग्रह गर्दछु ।’ थापाका अनुसार कार्यक्रममा गीतसंगीतलाई माया गर्ने दर्शक तथा स्रोतालाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको छ ।
विसं. २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील छन् । उनका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह–‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह– ‘स्वदेश’, आधुनिक गीतसंग्रह – ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह– ‘आमा’, आधुनिक गीतसंग्रह –‘नाता’, भजनसंग्रह –‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह –‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि आउने तयारीमा छन् । नेपाली सांगीतिक क्षेत्रमा योगदान पू¥याउँदै आएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख भएर राष्ट्र«सेवामा समर्पित छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij