काठमाडौ – विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ ।
नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले बिहान ३ः३० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर राजभण्डारीले जानकारी दिए ।
नयाँ वर्षको पहिलो दिन सोमबार पनि परेकाले धेरै भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका हुन् । आज न पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ । पशुपति क्षेत्रमा आज भारतीय दर्शनार्थीको पनि घुइँचो लागेको उहाँले सुनाउनुभयो । प्रत्येक वर्ष चैत र वैशाख महिनामा भारतीय दर्शनार्थी पशुपतिनाथ र गुह्येश्वरीको दर्शनका लागि धेरै आउने गरेको कोषले जनाएको छ ।
पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, जयबागेश्वरी, वत्सलेश्वरी, चन्द्रविनायक, पशुपति क्षेत्र बाहिरका गोकर्णेश्वर, चामुण्डामाई, सुन्दरीमाई, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शोभाभगवती, श्वेतकाली, रक्तकाली, बिजेश्वरीलगायत मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । नयाँ वर्षको सूर्योदयसँगै नित्य कर्म सकी मठमन्दिरमा पूजा, आराधना र दर्शन गर्न जाने बढी हुने भएकाले काठमाडौँ उपत्यकाका मठमन्दिरमा भक्तजनको घुइँचो देखिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij