सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा रहेको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ ।कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं २,३ र ४ ९ साविकको गोल्चे गा.वि.स, गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स का लागि १० लाख ९६ हजार ७८२ कित्ताका लागि आइपीओ जारी गरेको छ । सेयर खरीका लागि स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्
त्यस्तै, आयोजनाको १३२ के.भि प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न। ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो । आईपीओ छिटोमा फागुन १२ गते निष्काशन बन्द हुनेछ भने उक्त मितिसम्म सबै सेयर खरीदका लागि स्थानीयबाट आवेदन नपरेको खण्डमा ढिलोमा फागुन २७ गते खुला रहनेछ ।
३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित निर्माण भएको छ । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
स्थानीयबासीले कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि परिचयपत्र सहित स्थानीयले आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij