काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ ।
समितिले यस वर्ष विसं २०७७ सम्म पञ्चाङ्गलाई स्वीकृति मात्र दिने गरेको थियो । समितिका तर्फबाट पञ्चाङ्ग प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गरी प्राप्त भएकाले काम अघि बढाइएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
समितिले यस वर्षका लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको थियो । समितिले पञ्चाङ्गकार सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरुष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशीधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको हो ।
विसं २०७८ मा पात्रो प्रकाशन गर्न चाहने नयाँ पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तअनुसार तीन वर्षको गणित गरी समितिमा पेश गर्न पनि समितिले साउन पहिलो साता सार्वजनिकरूपमा सूचना जारी गरिसकेको छ । यस अवधिमा यसअघि पात्रो प्रकाशन गरिरहेका पञ्चाङ्गकारले पनि ग्रह गणित गरेको मस्यौदा पेश गर्नुपर्ने छ ।
पञ्चाङ्गका मस्यौदा प्राप्त भएपछि समितिमा रहेका ज्योतिष, धर्मशास्त्र, इतिहास पुराण, संस्कृतिलगायत विज्ञ सदस्यले ग्रह गणितको हिसाब हेरी अन्तिम निर्णय गरी स्वीकृति दिने व्यवस्था छ ।
समितिले यस वर्षदेखि भित्तेपात्रो (क्यालेण्डर) लाई पनि व्यवस्थित गर्ने भएको छ । भित्तेपात्रोलाई यसअघिसम्म स्वीकृति दिने व्यवस्था नहुँदा चाडपर्वका विषयमा जेसुकै लेखिदिँदा जनमानसमा भ्रम पैदा भएकाले मन्त्रालयको निर्देशनमा व्यवस्थित गर्न लागिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।
यस वर्षदेखि भित्तेपात्रो प्रकाशन गर्नेले पनि मस्यौदा समितिमा पेश गरी स्वीकृति लिनुपर्ने भएको छ । यस वर्षसम्म समितिले स्वीकृति दिएका पात्रो प्रकाशन भएपछि त्यसैलाई सारेर भित्तेपात्रो प्रकाशन हुने गरेको थियो । यसको मार पञ्चाङ्गकारलाई परेको थियो । यस विषयमा प्रतिलिपि अधिकारको विषय पनि उठ्दै आएको थियो ।
भित्तेपात्रो प्रकाशक व्यक्ति वा संस्थाले पात्रोबाट चाडपर्व आदिको विवरण सार्ने क्रममा आफूखुशी यताउता पारिदिँदा जनसाधारणमा भ्रम पैदा भएकाले यस वर्षदेखि व्यवस्थित गर्न लागिएको समितिले जनाएको छ । सूचना तथा प्रसारण विभागको भित्तेपात्रो भने समितिको सल्लाहमा तिथिमितिलगायत चाडपर्व राखेर प्रकाशन हुने गरेको समितिका अध्यक्ष प्रा. डा. गौतमले सुनाए ।
तिथि, बार, नक्षत्र, योग र करण गरी पाँचवटा अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँचवटै अङ्गका घडी पलालगायत विवरण पनि समावेश गरिएको हुन्छ । पछिल्लो समय पात्रो प्रयोगकर्तालाई सजिलो बनाउन यी पाँचै कुराको घडी पलालाई बजेमा पनि राखिने गरेको छ ।
योसँगै पात्रोमा तिथिअनुसार कुन चाडपर्व कहिले पर्छ भन्ने विषयको आधिकारिक निर्णय पनि दिइएको हुन्छ । विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोका कारण पनि समाजमा भ्रम उत्पन्न हुने गरेकाले सबै पञ्चाङ्गकारलाई समितिको छाताभित्र समावेश भई काम गर्न समितिले आह्वान गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij