२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

मौसमी रुघाखोकीबाट बच्न यसाे गराैं

मौसमी रुघाखोकीबाट बच्न यसाे गराैं

1.6K
Shares

डा राकेशकुमार यादव

मौसममा आउने परिवर्तनसँगै स्वास्थ्यमा पनि विभिन्न समस्या देखा पर्न सक्छ । जस्तो कि रुघा लाग्ने,ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने आदि । मौसम परिवर्तनको समय इन्फ्लुएन्जाका कीटाणु सक्रिय हुने भएकाले मानिसलाई विभिन्न समस्या देखिन थाल्छन् ।

संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्किने कीटाणुयुक्त पानीका कण हावाका माध्यमले वातावरणमा फैलिन्छ र श्वासप्रश्वासका माध्यमबाट अन्य मानिस संक्रमित हुने गर्छन् ।

मौसमी रुघाखोकीले खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई सताउने गर्छ ।

त्यसैले मौसम परिवर्तनको समय सकेसम्म बढी भिडभाड, हुलमूल हुने ठाउँमा नजाँदा राम्रो हुन्छ । घरमा पनि कुनै सदस्य यस्तो समस्याबाट ग्रसित भएको अवस्थामा सावधानी अपनाउनुपर्ने हुन्छ । जस्तो कि बिरामीको नजिक नबस्ने, बिरामीले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने आदि ।

घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्छ । बाहिरबाट घर फर्किएपछि साबुनपानीले राम्रोसँग हातगोडा सफा गरेर मात्र अन्य सामान छुनुपर्छ । यसरी साबुनपानीले राम्रोसँग हात धोएमा रोग लाग्ने सम्भावना ८० प्रतिशत कमी हुन्छ ।

कतिपय रोग अस्वस्थकर जीवनशैली र खानपानका कारण पनि लाग्ने गर्छ । त्यसैले जंकफुड, पानीपुरी, चटपटेलगायत खानेकुराको प्रयोग नगर्दा राम्रो ।

पानी तताएर मात्र पिउने बानीको विकास गर्नुपर्छ । अस्वस्थकर पानीका कारण थुप्रै प्रकारका रोग लाग्ने गर्छ ।

रुघाखोकीले यसको जोखिम समूहकालाई मात्र सताउँदैन । कुनै रोग नभएका पूर्ण स्वस्थ मानिसलाई पनि आक्रमण गर्न सक्छ । सामान्य रुघाखोकीलाई बेवास्ता गरेर उपचार नगराएमा इन्फ्लुएन्जाका कारण जटिल समस्या हुन सक्छ । यसकै कारण ज्यानै जान सक्छ । त्यसैले लामो समय ज्वरो र रुघा लागिरह्यो भने चिकित्सककहाँ पुग्नुपर्छ ।


नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij