२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

भिजन लुम्बिनीले आईपीओ निष्काशन गर्ने

भिजन लुम्बिनीले आईपीओ निष्काशन गर्ने

285
Shares

काठमाडौं – भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त सेयर निष्कासन गरिनेछ।

भिजन लुम्बिनी सार्वजनिक लगानीमूलक कम्पनी हो। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायतका उत्पादनशील र प्रशोधनमूलक क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन, विश्लेषण तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ।

कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ। स्वदेशी पुँजी तथा स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत नयाँ लगानीका सम्भावना खोजी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने कम्पनीको लक्ष्य छ।

भविष्यमा सम्भावनायुक्त नयाँ परियोजनामा लगानी विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्‍याउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij