२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

230
Shares
Tourists crowd to watch the sun as it sends a beam of light into the Great Temple of Ramses II's dark inner chamber in Abu Simbel, 870 kilometers (540 miles) south of Cairo, Egypt, Thursday, Oct. 22, 2026, a rare 3,200-year-old astronomical ceremony that happens twice a year. (AP Photo/Mohammed Salah)

अबु सिम्बेल (इजिप्ट)- इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक र स्थानीयवासी भेला भएका छन् ।

रामसेस द्वितीयको महान् मन्दिरमा हरेक वर्ष अक्टोबर २२ र फेब्रुअरी २२ मा सूर्यको किरण प्रवेश गर्छ । यी मितिहरूलाई प्राचीन इजिप्टका राजा रामसेस द्वितीयको जन्मदिन र सिंहासन आरोहणसँग सम्बन्धित मानिन्छ । मन्दिरको बनावट र सूर्यसँगको यसको विशेष पङ्क्तिबद्धताका कारण भित्री कक्षमा प्रवेश गर्ने प्रकाश करिब २० मिनेटसम्म रहन्छ ।

इटालीका पर्यटकका लागि स्थानीय पथप्रदर्शकका रूपमा काम गर्ने हिशाम खेलाले यो दिन विशेष उत्सव र ऐतिहासिक महत्त्वको अवसर भएको बताउनुभयो ।

सूर्योदयको दुर्लभ दृश्य हेर्न पर्यटकहरू बिहानैदेखि लामबद्ध भएका थिए । कतिपय पर्यटक रातभर बाहिरै बसेका थिए । मोबाइल फोन र क्यामेराबाट तस्बिर खिच्ने तथा सेल्फी लिनेहरूको भीड मन्दिर परिसरमा लागेको थियो । विशाल मूर्तिहरूको अगाडि भेला भएका पर्यटकहरू साना देखिन्थे । मन्दिर नाइल नदीतर्फ फर्किएको छ ।

उत्सवका क्रममा मन्दिर परिसरमा परम्परागत पोसाक लगाएका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले घण्टी, तबलाको ताल र प्राचीन इजिप्टको बिगुलजस्तो बाजा मिजमारको धुनमा नृत्य गरेर आगन्तुकलाई मनोरञ्जन दिएका थिए ।

मन्दिरको भित्री कक्षमा रामसेस द्वितीय तथा अमुन–रा र रा–होरख्ती देवताका मूर्तिहरू रहेका छन् । सामान्यतया अँध्यारो रहने यस कक्षमा सूर्यको किरण करिब ६० मिटर भित्रसम्म पुगेर मूर्तिहरूलाई उज्यालो पार्छ । नेसनल रिसर्च इन्स्टिच्युट अफ एस्ट्रोनोमी एन्ड जियोफिजिक्सका अनुसार यो दृश्य मन्दिरको वास्तु संरचना र सूर्यको अवस्थाबीचको विशेष सम्बन्धका कारण सम्भव भएको हो ।

अमेरिकाको एटलान्टाबाट इजिप्ट पुग्नुभएकी जेनिस साउदीले विशाल मूर्तिहरू र तिनको संरक्षणबाट आफू प्रभावित भएको बताउनुभयो । उहाँले मन्दिरका भित्तामा कुँदिएका आकृति, चित्रलिपि र रङहरूको सुन्दरताले आफूलाई अझ बढी आकर्षित गरेको उल्लेख गर्नुभयो ।

सन् १९६० को दशकमा अस्वान उच्च बाँध निर्माणपछि बढ्न सक्ने पानीबाट मन्दिरलाई जोगाउन पुरातत्त्वविद् र इन्जिनियरहरूले ठूलो परियोजना सञ्चालन गरी मन्दिरलाई सुरक्षित स्थानमा सारेका थिए । स्थानान्तरणका क्रममा सूर्यसँग मन्दिरको पङ्क्तिबद्धता कायम राख्न विशेष ध्यान दिइएको थियो । त्यसैले तीन हजार वर्षभन्दा बढी समयपछि पनि वर्षमा दुई पटक सूर्यको किरण मन्दिरको भित्री कक्षसम्म पुग्ने प्राचीन परम्परा निरन्तर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij