२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

155
Shares

कास्की- पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो ।

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो ।

प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ । “लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ । सोही क्रममा ठूलो परिणामको लागुऔषध फेला पर्यो । औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।” प्रनाउ पासवानले भन्नुभयो ।

पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटनै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो । प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij