२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने

नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने

दुई सयभन्दा बढी स्टल र दर्ता भएका ५५ लाख सवारीसाधनको पृष्ठभूमिमा नेपालकै ठूलो मोबिलिटी मेला लाग्दै

720
Shares

काठमाडौँ – सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गते (अगस्ट २५ देखि ३०) सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ।
भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्। मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी (LCV) ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी करिब ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू समेत सहभागी हुनेछन्।
पाँच दशकको अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले लोभलाग्दो फड्को मारेको छ। हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। विगत पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गर्दा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ, जसले अटोमोबाइल क्षेत्रलाई राष्ट्रिय ढुकुटीको मुख्य मेरुदण्ड बनाएको छ। त्यस्तै, हरित गतिशीलता (Green Mobility) तर्फ उन्मुख हुँदै देशमा करिब ६३ हजार विद्युतीय सवारीसाधन (EVs) भित्रिइसकेका छन् भने तिनका लागि करिब २ हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यो स्वर्ण जयन्ती संस्करण केवल एउटा संस्थाको उत्सव मात्र नभएर सिङ्गो उद्योगको योगदानको लेखाजोखा हो। “पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री गर्‍यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छ’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो,” अध्यक्ष उप्रेतीले भन्नुभयो।
नेपालको अटोमोबाइल क्षेत्रलाई केवल आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार र समग्र आर्थिक चलायमानताको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको छ। पचास वर्षको यो ऐतिहासिक कोशेढुङ्गाले नेपाली सडक र यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij