२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

गुराँस हाइड्रोपावरको निर्माण कार्य ५० प्रतिशत सम्पन्न

गुराँस हाइड्रोपावरको निर्माण कार्य ५० प्रतिशत सम्पन्न

210
Shares

काठमाडौं- संखुवासभा र भोजपुरमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रो आयोजनाको निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न गरिएको प्रवर्द्धक कम्पनीले जनाएको छ।

आयोजनाबाट प्रभावित ४२२ परिवारलाई संस्थापक सेयर प्रदान गरिएको छ। गुराँस हाइड्रो लिमिटेडले निर्माण गरिरहेको आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रूपैयाँ छ।

कम्पनीका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले शनिबार आयोजित कार्यक्रममा प्रभावित परिवारलाई सेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

आयोजनाको हेडवर्क्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका वडा नम्बर १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको कम्पनीले जानकारी गराएको छ।

सङ्खुवा खोला र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङबाट पानी विद्युत गृहमा पुर्‍याउने संरचना बनाइएको छ।विद्युत् गृह भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर १ र २ अन्तर्गत बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ।

उत्पादित विद्युत अरुण नदीमा छोड्ने गरी आयोजना संरचना तयार पारिएको कम्पनीले जनाएको छ। आयोजनाबाट प्रभावित ४२२ परिवारलाई न्यूनतम एक लाख रूपैयाँदेखि अधिकतम पाँच लाख रूपैयाँसम्मको संस्थापक सेयर प्रदान गरिएको छ।

सेयर हस्तान्तरण कार्यक्रममा अध्यक्ष घिमिरेले आयोजना निर्माणमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय र सरोकारवालाको सहयोग रहेको बताए।

आयोजना निर्माणमा हाल प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय, नेपाल प्रहरी र नेपाली सेनासहित करिब ७०० जना संलग्न रहेको कम्पनीले जनाएको छ। निर्माणको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजनामा बाँकी निर्माण कार्यलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij