२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

प्रधानमन्त्री दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

170
Shares

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा ३५ जना सहभागी छन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्।

त्यस्तै, प्रधानमन्त्रीका स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य पनि भ्रमण टोलीमा छन्।

टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधि पनि छन्।

आइतबार दिउँसो १ः ४५ बजे प्रधानमन्त्री शाह काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनी दिउँसो ३ः १५ बजे नयाँ दिल्ली पुग्नेछन् । त्यसपछि अपराह्न ४ बजे होटल पुग्ने कार्यक्रम छ ।

भ्रमणको पहिलो दिन साँझ ६ बजे भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरममा सहभागी हुनेछन् । बिजनेस फोरमपछि रात्रिभोजको कार्यक्रम राखिएको छ ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः ४० बजे राजघाट पुगेर उनले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्रीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन् । त्यसपछि ११ः ५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ ।

दिउँसो १२ः ३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ । दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।

सोमबार दिउँसो ३ः १५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ः ५० बजे नयाँ दिल्लीबाट काठमाडौँका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६ः ३५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij