काठमाडौं- ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले विकास गरिरहेको आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ३५ प्रतिशत पुगेको छ।
आयोजनाको मुख्य संरचनाअन्तर्गत पर्ने हेडरेस टनेल (सुरुङ) खन्ने काम सुरु भइसकेको छ। त्यस्तै, विद्युत्गृह निर्माणस्थलमा समेत उत्खनन कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ।
आयोजनाको वित्तीय व्यवस्थापन सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सम्पन्न भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेड सहनेतृत्व बैंकका रूपमा सहभागी छ।
हालसम्म आयोजनाको निर्माणमा प्रवर्द्धकहरूको स्वपुँजी लगानी उपयोग भइरहेको कम्पनीले जानकारी दिएको छ। यसैबीच, आयोजनाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरीले माछापुच्छ्रे बैंकका रोशन केसीसहितको व्यवस्थापन टोलीसँग आयोजना स्थलको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा चौधरीले दक्ष तथा व्यावसायिक जनशक्तिको परिचालनबाट निर्माण कार्यलाई तीव्रता दिइएको उल्लेख गर्दै निर्धारित समयसीमाभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप १२८ मेगावाट विद्युत् उपलब्ध गराउन सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij