काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड लिमिटेडले संस्थापक शेयरधनीका लागि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार शुक्रबार सम्पन्न विशेष साधारण सभाबाट पारित निर्णयबमोजिम २०८३ साल असोज ३० गतेसम्म शेयरधनी दर्ता किताबमा कायम रहेका संस्थापक शेयरधनीका लागि हकप्रद शेयर निष्कासन गर्न लागिएको हो।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २० करोड रहेको छ। सो चुक्ता पुँजीको ३३.३३ प्रतिशत अर्थात् ३ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ।
प्रति शेयर अंकित मूल्य रु. १०० कायम गरिएको हकप्रद शेयरमध्ये कुल ४० लाख कित्ता शेयर निष्कासन गरिनेछ। कम्पनीका अनुसार संस्थापक शेयरधनीले आफ्नो हाल कायम शेयरको अनुपातमा प्राप्त हुने हकप्रद शेयर खरिद गर्न सक्नेछन्।
हकप्रद शेयरका लागि आवेदन २०८३ साल कात्तिक २ गते सोमबारदेखि खुला हुनेछ। आवेदन दिने अन्तिम मिति २०८३ साल कात्तिक १४ गते सोमबार (कार्यालय समयभित्र) तोकिएको छ।
तोकिएको अवधिभित्र आवेदन नदिई बाँकी रहेको हकप्रद शेयर कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चालक समितिले तोकेको शर्त र तरिकाबाट बोलकबोल, पुनः बाँडफाँट वा अन्य किसिमले बिक्री वितरण गरी बाँडफाँट गर्न सकिने सूचनामा उल्लेख छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij