२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुर्खेतको खड्का होटेलद्वारा बाढीपीडितका लागि आठ लाख सहयोग

सुर्खेतको खड्का होटेलद्वारा बाढीपीडितका लागि आठ लाख सहयोग

335
Shares

कर्णाली- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि खड्का होटल सुर्खेतले रु आठ लाख ६९ हजार सहयोग गर्ने भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित घण्टाघर लाइनमा रहेको उक्त होटेलले रु आठ लाख ६९ हजार ६१८ सहयोग गर्ने जनाएको हो । होटल सञ्चालक कृष्णबहादुर खड्काले असहाय, विपन्न र दुःखमा परेका व्यक्तिहरूको सहयोगका लागि सङ्कलन गरेको दानपेटिकाबाट रु सात लाख १८ हजार ६१८ र रु एक लाख ५१ हजार होटेलबाट थपेर रु आठ लाख ६९ हजार ६१८ आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने जानकारी दिनुभयो ।

सञ्चालक खड्काले भन्नुभयो, “यो महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिड, चितवनसम्मका नागरिक प्रभावित भएका छन् । यसले ठूलो जनधनको क्षति पुर्याउनुका साथै देश शोकमा डुबेको छ । अहिले कोहीकसैले सुझाव, सल्लाह दिने होइन बरु हरेकले सहयोग गर्ने बेला हो । बाढीबाट पीडित नागरिकको घाउमा मल्हमपट्टि होस् भनेर हामीले एउटा जिम्मेवार व्यवसायीका हिसाबले आफूले सकेसम्मको आर्थिक सहयोग गरेका हौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलको आइतबार बसेको बैठकले आफ्ना प्रत्येक सदस्यबाट रु १५ हजारका दरले १० जना सदस्यको हुन आउने रु एक लाख ५० रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको एमालेका प्रमुख सचेतक एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले जानकारी दिनुभयो ।

नेपाली कांगेस कर्णाली प्रदेशसभा दलले आफ्ना १५ जना सदस्यबाट जनही रु १५ हजारका दरले सङ्कलन गरी रु दुई लाख २५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij