काठमाडौं- आजदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला (ल्याब) तथा निजी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिँदा बिरामीले सेवा शुल्कमा थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ।
सरकारले आर्थिक विधेयक, २०८३ मार्फत निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू गर्ने व्यवस्था गरेसँगै यो नियम आजदेखि कार्यान्वयनमा आएको हो।
नयाँ व्यवस्थाअनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट लिने सबै सेवा शुल्कमा ३ प्रतिशतका दरले स्वास्थ्य समता शुल्क थप गरी असुल गर्नुपर्नेछ।
सरकारका अनुसार यसबाट संकलित रकम गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्वास्थ्य सेवा सुदृढीकरणमा खर्च गरिनेछ।
यस व्यवस्था अन्तर्गत निजी स्वास्थ्य संस्थाले बिरामीबाट बिलमार्फत शुल्क उठाई प्रत्येक चौमासिक समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेछ।
यदि कुनै स्वास्थ्य संस्थाले शुल्क नतिरे वा छली गरेको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्न सक्ने व्यवस्था छ। निर्धारित समयमा रकम दाखिला नगरे वार्षिक १५ प्रतिशत ब्याज लाग्नेछ। साथै, विवरण बुझाउन ढिलाइ गरे प्रत्येक विवरणमा एक हजार रुपैयाँ जरिबाना लाग्नेछ भने शुल्क छली पुष्टि भए छली गरिएको शुल्कको थप २५ प्रतिशत जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij