काठमाडौँ – अन्तर्राष्ट्रिय होटेल चेन म्यारिअट इन्टरनेसनलले नेपालमा दुईवटा अल्ट्रा लक्जरी होटेल सञ्चालन गर्ने उद्देश्यसहित सीजी हस्पिटालिटी ग्लोबलसँग रणनीतिक साझेदारी गरेको छ।
सम्झौता अनुसार नेपालमा उच्चस्तरीय होटेल परियोजना सञ्चालन गर्ने तथा भारतको सिलिगुडीमा समेत एक होटेल विकास गर्ने योजना रहेको जनाइएको छ। दुवै संस्थाबीचको उक्त सहकार्यलाई ऐतिहासिक उपलब्धि रूपमा चित्रण गरिएको छ।
सम्झौता पत्रमा म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी उपस्थित थिए।
नेपालमा सञ्चालन हुने प्रमुख परियोजना ‘द रिट्ज-कार्लटन काठमाडौँ’ ब्रान्ड अन्तर्गत रहनेछ। यसलाई मुलुककै आतिथ्य क्षेत्रको सबैभन्दा ठूलो निजी लगानीमध्ये एकका रूपमा लिइएको छ।
सीजी हस्पिटालिटी ग्लोबल अन्तर्गत यो परियोजनामा विभिन्न साझेदारहरूको समेत सहभागिता रहनेछ। परियोजना ठमेल क्षेत्रमा विकास गरिनेछ, जहाँ होटेलसँगै ब्रान्डेड रेसिडेन्स, व्यावसायिक संरचना र क्यासिनोसमेत समावेश हुने योजना छ।
करिब ९ रोपनी क्षेत्रफलमा निर्माण हुने यस परियोजनाको अनुमानित लागत करिब १० करोड अमेरिकी डलर (झन्डै १५ अर्ब रुपैयाँ) रहने प्रक्षेपण गरिएको छ। सन् २०२९ को मध्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
परियोजना अन्तर्गत करिब १५० कोठा क्षमताको अल्ट्रा लक्जरी होटेल सञ्चालनमा आउनेछ, जसले प्रति रात प्रति कोठा १ हजार अमेरिकी डलरभन्दा बढी दर निर्धारण गर्न सक्ने अनुमान गरिएको छ।
यस सहकार्यलाई लगानी आकर्षण, रोजगारी सिर्जना र पर्यटन क्षेत्रको स्तरोन्नतिका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको छ। लगानीकर्ताहरूले यस परियोजनाले नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij