काठमाडौं – शिवम् सिमेन्टले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २५ गते राष्ट्रिय सभागृहमा साधारणसभा बोलाउने निर्णय गरेको हो । सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले रिक्त सञ्चालकमा गरिएको नियुक्ति तथा मनोनयन अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij