मोरङ- कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारण नागरिकलाई निजी क्षेत्रभन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ ।
विराटनगर महानगरपालिका–१० स्थित आफ्नो भवनमा अत्याधुनिक प्रयोगशालाबाट दैनिक एक सय ५० भन्दाबढी बिरामीले सेवा लिइरहेका प्रयोगशालाका प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो । प्रयोगशालाबाट प्रदेशका १४ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । गत आव २०८१÷८२ मा २३ हजार ६९० जना बिरामीले प्रयोगशालाबाट परीक्षण सेवा प्राप्त गरेका छन् ।
प्रयोगशालामा आएर प्रत्यक्ष रूपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन् भने हुलाक सेवामार्फत प्रदेशका विभिन्न जिल्लाका एक हजार ३०० बिरामीले सेवा प्राप्त गरेको प्रमुख कार्कीले बताउनुभयो ।
प्रयोगशालाले सेवा प्रदान गरेबापत गत आवमा रु एक करोड ६५ लाख २७ हजार ४४० राजस्व सङ्कलन गरेको जनाउँदै उहाँले रु ६९ लाख ३४ हजार ७३५ ज्येष्ठ नागरिक, विपन्न, अशक्तलगायत व्यक्तिलाई छुट दिइएको बताउनुभयो । सेवाग्राहीलाई एउटै कोठाबाट प्रयोगशालासम्बन्धी विभिन्न स्वास्थ्य परीक्षण गर्न ‘इन्टिग्रेटेड’ सञ्चालनमा ल्याएको छ ।
गत आवमा पाँच हजार महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको कार्यालयले जनाएको छ । प्रदेशस्थित सम्पूर्ण निजी प्रयोगशालालाई स्थानीय तह र सङ्घीय सरकारको समन्वयमा पूर्ण रूपमा दर्ता प्रक्रियामा सहभागी गराउनुका साथै क्षयरोग, मलेरिया, डेङ्गु, दादुरा, जेईजस्ता रोगको पहिचानका लागि मलिकुलर विधिबाट परीक्षण सुरु गर्ने लक्ष्य राखिएको प्रमुख कार्कीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij