काठमाडौं -तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार अब तेह्रथुम पावरको हकप्रद शेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि आज साउन ४ गतेसम्म आवेदन दिने म्याद रहेको थियो। मागबमोजिम आवेदन नपरेकोले म्याद थप गरिएको हो।
कम्पनीले गत असार १६ गतेबाट आफ्ना शेयरधनीलाई हकप्रद शेयर खुला गरेको हो। नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।
तेह्रथुम पावरले हकप्रद शेयर निष्कासनका लागि गत जेठ ५ गते बुक क्लोज गरेको थियो। जेठ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यसैगरी धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरु छथर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij