२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

आजदेखि विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

1.3K
Shares

काठमाडौं- विकाश हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका र ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा भने कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार २२ गते हुनेछ भने ढिलोमा असार ३२ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले निर्माण गरी सञ्चालन गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ९ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij