२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध

1.3K
Shares

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्र र किसानलाई बिर्सेको टिप्पणी गर्दै मल, बीउको उचित प्रबन्धसहित खाद्यउपजमा आत्मनिर्भर बन्ने सोचका साथ आगामी आवको बजेट प्रस्तुत गर्न अनुरोध गरे ।

उनले व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रित गर्दै स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेगरी आगामी आवको बजेट ल्याउन अनुरोध गरे ।

सांसद भगवती चौधरीले विनियोजन विधेयकले ऊर्जा, पूर्वाधार क्षेत्रको विकासमा जोड दिँदै बजेटलाई थप यर्थाथवादी बनाउन सुझाव दिनुभयो । सूचना प्रविधि, कृषि, पर्यटलाई विशेष प्राथमिकतामा राख्न पनि उनले आग्रह गरे ।

सांसद सूर्यमान दोङले कृषि, पर्यटन, जलविहारमा समेत सहयोग गर्ने सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक बजेटसहित अघि बढाउन अनुरोध गरे ।

सांसद शिशिर खनालले बजेट विनियोजन, कार्यान्वयन र प्रगतिका विषयमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै सूचना प्रविधि क्षेत्रलाई विस्तार र सहजीकरण गर्नुपर्नेमा थप कर लगाइएको, प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण निर्माण हुन नसकेको र सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थित र पारदर्शी नभएकाले त्यसतर्फ ध्यान जाओस भने ।

सांसद रामकृष्ण यादवले मुलुकको भौगोलिक विविधतालाई सम्बोधन गर्दै आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्न सुझाव दिए । उनले नीति तथा कार्यक्रममा ठूला, पूर्वतयारी भएका र लगानी ढाँचा तय भएका आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिनु सकारात्मक पक्ष भएको धारणा व्यक्त गरे ।

उनले कृषि क्षेत्रको प्रवद्र्धनका लागि देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्न, गुणस्तरीय मल बीउको प्रबन्ध गर्न सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij