गण्डकी- पोखरा महानगरपालिका वडा नं ३३ ठूलोढुङ्गा (साविक भरतपोखरी–४) स्थित बालादेवी मन्दिर दुई सय वर्ष अघिदेखिको इतिहासको साक्षी मानिन्छ ।
दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो बाटो हँुदै आएकी र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसिछन् ।
निज महिला गर्भवती भएको र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । निज महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समय पश्चात बालिका अलप भएको तर निज बालिकाको दिव्यस्वरुप त्यही नै घुमिरहेको आस्थाका आधारमा उक्त स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेछ ।
बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थाले पछि के रहेछ भनि लामा धामीलाई ल्याई हेराइएछ । खोजी गर्दा उक्त बालिकाको आत्मा धामीमार्फत सबै घटनाको बारेमा सम्पूर्ण वृतान्त बताउनुको साथै म देवी हुँ र यसै स्थानमा मेरो मन्दिर बनाउनु भन्ने निर्देशन भएछ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना भएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ ।
यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको पूजारी वसन्तप्रसाद आचार्यले बताए ।
उहाँका अनुसार प्रत्येक वर्षको ज्येष्ठी पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । विभिन्न महत्पूर्ण तिथिमितिमा पनि पूजाआजा हुने गरेको उल्लेख गर्दै उनले प्राचीन महत्वको तीर्थस्थल भएर पनि प्रवद्र्धन हुन नसकेको बताए।
मन्दिरको संरक्षण र विकासको लागि गत असोजमा बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति स्थापना भएको उनले जानकारी दिए । मन्दिरका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराउनुभएको समितिका सचिव राजकुमार लामिछानेले बताए ।
मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थीहरू मन्दिरमा आउने गरेका छन् । “ऐतिहासिक महत्वको तीर्थस्थल भएर पनि यहाँको राम्रो प्रवर्द्धन हुन सकेको छैन”, सचिव लामिछानेले भने, “यहाँको धार्मिक महत्वको उजार हुन सकेमा मात्रै यो समग्र कास्की जिल्लाकै महत्वपूर्ण तीर्थस्थलका रुपमा स्थापित हुनसक्ने पक्का छ ।”
मन्दिरमा पूर्वाधार निर्माणका लागि योजना अघि सारिएको बताउँदै उनले तत्कालका लागि शौचालयलगायतका पूर्वाधार अपरिहार्य भएको बताउनुभयो । मन्दिरमा यस वर्षदेखि नवदुर्गाका अवसरमा विशेष पूजाआजा गर्ने प्रचलन सुरु गरिएको जानकारी दिँदै उहाँले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिए ।
पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुङ्गा चोकबाट नजिक पर्ने उक्त मन्दिर दर्शन सहज बनेको छ । पूर्णरुपमा कालोपत्रे सडक भएका कारण आगामी दिन यस तीर्थस्थलको महिमा र गरिमा अझै बढ्ने विश्वास लिइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij