काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिनुभयो । उहाँले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्याहरुलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले समस्यालाई आ-आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिनु भयो । साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरुले केही ठाउँमा कर्जा असुलीमा समस्या रहेको भन्दै पूँजीको वृद्धि र लागनी विस्तारका लागि केन्द्रित हुने बताएका थिए ।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघु वित्त वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका अध्यक्ष तथा प्रमुखहरुको सहभागिता थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij