२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्माणाधिन संसद भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैनः सभामुख घिमिरे

निर्माणाधिन संसद भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैनः सभामुख घिमिरे

515
Shares

काठमाडौं – सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । बिहीवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गर्नुभयो । उहाँले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गर्नुभयो । निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब छिटो सक्याएर हामीले हाम्रो संसदका कामहरु यो भवनबाट छिटो क्लियर गर्न पाए हुन्थ्यो भन्ने तिब्र इच्छा छ । ह्याबी कामहरु रहेको र प्रतिकुलताहरु धेरै भएकाले निर्माणको जिम्मा पाएको टिमले यो कामहरु गर्न गाह्रो भइरहेको छ । अन्त भन्दा फरक के छ भने अन्त निर्माण गरे पनि पेमेण्ट पाउने स्थिति नदेखेर निर्माण व्यवसायीहरुले निर्माणको साइटबाट काम गर्न गाह्रो भइरहेको छ । तर यहाँ त्यो अफ्ठ्यारो छैन तर लाग्दा लाग्दै पनि चाहिएको म्यानपावरदेखि अन्य कुराहरु जुन गराउन सकिरहनु भएको छैन । एउटा चिन्ताको विषय केह हो भने हामी चैत्र २० भनेको अब ७ महिना छ । सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरु फिनिसिङका कुराहरु सबै कुराहरुले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ । अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ । कसरी छिटो गर्न सकिन्छ, यसमा सबैको साथ र सहयोग खासगरी उत्साहजनक वातावरण बनाएर जानुपर्छ ।’

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताउनु भयो । उहाँले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताउनु भयो । उहाँले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिनुभयो । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘छानाको काम सबै भवनहरुमा सम्पन्न भइसकेको छ । असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन गर्दा ८१ प्रतिशत भएको थियो । इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढेको अवस्था छ । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेका छौँ । बितेको समय रिकभर गर्नेगरी अघि बढ्न निर्देशन दिएका छौँ । निर्माण कार्य समयमै सक्न दुई चरणमा भएपनि काम अघि बढाउने निर्देशन भएको छ । त्यो अनुसार भदौ १ गतेदेखि नै काम गर्न निर्देशन दिएपनि काम अघि नबढेको अवस्था छ । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्न निर्देशन दिएका छौँ ।’

महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म शुरु नभएको बताउनु भयो । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij