काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु भएको टाटा पन्च ईभीको ४ दिनमा ३२८ युनिट बुकिङ भएको छ ।
टाटा पन्च ईभीको स्टलमा आज पनि भीडभाड छ भने भोलि अन्तिम दिन पनि उपभोक्ताहरुको बाक्लो उपस्थिति रहने टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।
टाटा पन्च ईभी शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । यो सुरुवाती भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्छन् ।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ ।
नाडा अटो शो २०२४ मा सहभागी धेरै कम्पनी र उनीहरुले डिस्प्ले गरेका विभिन्न मोडलका गाडीहरु मध्ये सर्बाधिक आकर्षण मानिने स्टल टाटाको स्टल समेत रहेको छ । टाटाले हालै नेपाली बजारमा सार्वजनिक गरेको पन्च ईभीले विशेष चर्चा पाइरहेको छ ।
बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ। १६ इन्च एलआरआर टायर, १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्।
यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३ सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij