२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपर बलेफी आयोजनामा लक्ष्मी सनराइजको अगुवाइमा ४ बैंकले लगानी गर्ने

अपर बलेफी आयोजनामा लक्ष्मी सनराइजको अगुवाइमा ४ बैंकले लगानी गर्ने

495
Shares

काठमाडौं – अपर बलेफी हाइड्रोपावर लिमिटेडले बनाउने ४६ मेगावाटको अपर बलेफी जलविद्युत आयोजनामा लगानी जुटेको छ। आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएक हुन् ।

ऋण लगानी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीषराज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदीपकुमार दाहाल, नेपाल एसबिआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक विनीतचन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरेका छन् ।

परियोजनाको कुल लागत नौ अर्ब ४३ करोड रुपैयाँ छ। त्यसको ७५ प्रतिशत बैंकहरुले ऋण लगानी गर्ने भएका हुन्। परियोजनामा लक्ष्मी सनराइजले चार अर्ब सात करोड, कृषि विकास बैंकले एक अर्ब ५० करोड, नेपाल एसबिआई बैंकले एक अर्ब र माछापुच्छ्रे बैंकको ५० करोड रुपैयाँ लगानी गर्नेछन् । बाँकी २५ प्रतिशत रकम कम्पनीका प्रबर्दकको लगानी रहने छ ।

यो आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित बलेफी नदीमा निर्माण हुने छ । अपर बलेफी हाइड्रोपावरले ०७८ साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिएको थियो। २०८० साल मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौतासमेत भइसकेको छ। आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब २७४।८९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij