काठमाडौं – कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिक मात्रमा बढेको छ।
यस अवधिमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १ अर्ब ३२ करोडरहेको थियो । यसरी खूद नाफातर्फ बैंकले १७६ प्रतिशतको छलाङ मारेको छ ।
यस अवधिमा बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशतको वृद्धि हो ।
अघिल्लो वर्ष २.७८ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.४४ प्रतिशत पुगेको छ । समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ २३३.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य रु. २२८३.९८ कायम भएको छ ।
त्यस्तै,अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ७.४२ प्रतिशत रहेको बैंकको यस अवधिमा २३३.५५ प्रतिशतले वृद्धि भई २४.७५ रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफामा पनि वृद्धि भएर अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतको वृद्धि भएको छ। यस अवधिमा सञ्चालन मुनाफा ५ अर्ब २९ करोड माथि पुगेको छ ।
त्यस्तै ,खूद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ। अघिल्लो वर्ष ८ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यस अवधिमा १० अर्ब १२ करोड माथि पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो । यस्तै, समीक्षा अवधिसम्म बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा परिचालन गरेको छ । कर्जातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशतको ग्रोथ गरेको देखिन्छ ।
यस्तै ,बैंकले अघिल्लो वर्ष यही अवधिसम्म सम्भावित जोखिम व्यवस्थापनका लागि १ अर्ब ४५ करोड रुपैयाँ प्रभिजन गर्नुपरेकोमा यो वर्ष घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij