२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आस्था कला केन्द्रको रजत जयन्तीमा गणेश रसिक र माइकल चन्द सम्मानित

आस्था कला केन्द्रको रजत जयन्तीमा गणेश रसिक र माइकल चन्द सम्मानित

775
Shares

काठमाडौं आस्था कलाकेन्द्रले वरिष्ठ साहित्यकार गणेश रसिक र वरिष्ठ सञ्चारकर्मी माइकल चन्दलाई सम्मान गरेको छ ।
राष्ट्रिय नाचघरमा आयोजित आफ्नो २५ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा रसिक र चन्दलाई दोसल्ला, सम्मानपत्र र २५ हजार नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रम वरिष्ठ नृत्य गुरु तथा नृत्य अन्वेषक भैरव बहादुर थापाको प्रमुख आतिथ्यता तथा तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसी र नेपाली चलचित्रकी प्रथम नायिका वरिष्ठ अभिनेत्री भुवन थापा चन्दको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
आस्था कलाकेन्द्रका संस्थापक निर्देशक रमेश थापाका अनुसार आस्था कलाकेन्द्रका विद्यार्थीहरुको समूहले २८ वटा भन्दा बढी नृत्य र गीतको सांस्कृतिक मनोरन्जन प्रदान गरेका थिए । थापाले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सिताराम बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसीले राज्यले श्रष्टाहरुलाई सम्मान गर्न नसकेको बताए ।
कत्थक नाचबाट सांस्कृतिक प्रस्तुती सुरुवात गरिएको थियो । त्यसपछि प्रितम गुरुङले यमन राग र गणेश रसिकको गीत गाएर सुनाए । कार्यक्रममा अन्जुली हमाल, राम बहादुर सुनार, प्रस्तुती खनाल, कुसुमी लामा, राजेन्द्र बिके, सुधा शेर्पा, सारा राई, संञ्जीव आलेमगरका साथै राजेश श्रेष्ठ, गीता पाण्डे, अमृता लिम्बु सहितको एमआरडिएफ ग्रुपको विशेष सांगितिक प्रस्तुती थियो । त्यस्तै देशले रगत मागे, जंगी निशान हाम्रो जस्ता राष्ट्रिय गीतमा श्रवण पाख्रिनले गरेको कोरियोग्राफीमा आस्था कलाकेन्द्रका कलाकारहरुले प्रस्तुत गरेको देशभक्तिले ओतप्रोत नृत्यले सबैको आँखा रसाएका थिए ।
कार्यक्रममा आस्था कलाकेन्द्रमा विभिन्न समयमा नृत्य तथा गायन प्रशिक्षण लिइरहेको विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । कार्यक्रममा प्रस्तुत भएका नृत्यहरु श्रेणी खतिवडा, अनुजा अधिकारी, बालकृष्ण सुनार, श्रवण पाख्रिन, कविता शाहीले कोरियोग्राफी गरेका थिए । बालबालिका देखि उमेर ढल्किएका प्रौढहरुको नृत्य प्रस्तुती तारिफयोग्य थियो ।
आस्था कलाकेन्द्रले स्थापनाकालदेखि हालसम्म प्रशिक्षण दिने गुरुहरुलाई मायाको चिनोसहित सम्मान पनि गरेको थियो । कार्यक्रम सफल बनाउन रित एकेडेमी, कर्मालय फाउण्डेसन, एसिया प्यासिफिक कलेज, स्टुडेन्ट लिंक इन्टरनेसनल नेपाल, लक्ष्मी सनराईज बैंक, माछापुच्छ्रे बैंक लगायतका अन्य विभिन्न संस्थाहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij