काठमाडौँ – चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ ।
आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।
नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइ वाइले प्रत्येक रनका लागि रू. १ हजार, प्रत्येक चौकाका लागि रू. ८ हजार, प्रत्येक छक्काका लागि रू. १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरि प्रत्येक विकेटका लागि रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि रू. ३० लाख उपलब्ध गराउने वाइ वाइको घोषणा
थियो ।
सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि रू. ९ लाख ४४ हजार भएकोमा उक्त रकममा रू. ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो ।
बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित कार्यक्रमकावीच सी जी फुड्सका सिइओ प्रदीप पुडासैनीले क्यानका सचिव पारश खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । सिइओ पुडासैनीले टी–२० विश्वकपमा सहभागि राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए । ‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ ।
क्यानका सचिव पारस खड्काले नेपालीे क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पु¥याउँदै आएको योगदान उच्च रहेको बताए । वाइ वाइले प्रायोजन गरेको यू–१९ प्रतियोगितमा आफुले वाइ वाइ को जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहनु भएका खड्काले स्मरण गरे ।
नेपाल आईसिसि टि–२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला
अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij