काठमाडौं – महालक्ष्मी विकास बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–तेस्रो संस्करण सम्पन्न भएको छ ।
जेठ २२ गतेदेखि २४ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क स्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइसिएफसी फाइनान्स द्वितीय स्थान हासिल गर्न सफल भएको छ। उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए। वार्षिकोत्सवको अवसरमा खेलका विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम गरियो ।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइसिएफसी फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छ्रे बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइसिएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरूबीच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी मनोरञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए। नेपाली क्रिकेटको विकासको लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्याउन समेत आग्रह गरे।
कार्यक्रममा महालक्ष्मी विकास बैंक तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार-जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताए
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij